लन्डन । मानव जीवनको गहिरो अर्थ, धर्म, त्याग, सङ्घर्ष र आत्मबोधलाई उजागर गर्ने सत्य कथामा आधारित नाटक 'मिलारेपा' बेलायतमा प्रदर्शन गरिने भएको छ ।
बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको च्यारिटी सहयोगार्थ आउँदो ८ मार्च २०२६ का दिन साँझ ६ बजे अल्डसटस्थित प्रिन्सेस हलमा प्रदर्शन गर्न लागिएको हो । नाटक नेपाल–तिब्बत सीमावर्ती क्षेत्र क्याङ्त्सामा जन्मिएका महान् योगी तथा कवि जेत्सुन मिलारेपाको जीवनकथामा आधारित छ । कालो तान्त्रिक साधनामा संलग्न एक भट्किएको युवाबाट गुरु मार्पा लोचावाको मार्गदर्शनमा कठोर साधना गर्दै आत्मज्ञान प्राप्त गर्ने साधकसम्मको उनको जीवनयात्रा यस नाटकको मुख्य विषयवस्तु हो । यसले मानव जीवनमा परिवर्तन सम्भव छ भन्ने सन्देशलाई अत्यन्त प्रभावकारी र प्रेरणादायी रूपमा प्रस्तुत गर्दछ ।
मण्डला थिएटर नेपालको विशेष प्रस्तुती रहेको उक्त नाटक चाङ ङोन हेरुकको लेखन, बुद्धि तामाङ र उमेश तामाङको निर्देशन रहेको छ । त्यस्तै, रुपेश लामा, रमिला मोक्तान, विकास लामालगायतका कलाकारहरूको जोडदार अभिनय रहेको छ । साथै, अनि छोइङ डोल्माको स्वरसहितको प्रत्यक्ष परम्परागत संगीत प्रस्तुत गर्ने छ । जसको संगीत संयोजन सुदीप खतिवडाले गरेका छन् । उनीहरुको सशक्त अभिनयलाई अत्याधुनिक क्यामारा तथा प्रविधिको सहयोगमा छायांकन गरी उक्त दिन प्रिन्सेस हलको स्क्रिनमा प्रस्तुत् गरिने कार्यक्रम संयोजक एवं बीसीसी यूकेका उपाध्यक्ष क्याप्टेन देब घलेले जानकारी दिए ।
उक्त नाटकले, आधुनिक शैलीमा बाची राख्दा, मानिसलाई चाहिने अतिवश्यक शिक्षा र दुर्लभ ज्ञानले सजिएको, धेरैको मन छुन सफल यो नाटक, विभिन्न विकल्पद्वारा, बीसीसी यूकेले बेलायतवासी नेपालीलाई पस्कन सफल भएका सुचित गराउँदै; यस संस्थाका अध्यक्ष आङ्गदावा शेर्पाले उक्त नाटक हेर्ने यो सुवर्ण अवसर नगुमाउन जानकारी गराएका छन्।
टिकट बीसीसी यूकेको अल्डरसटस्थित गुम्बा वा अनलाइनमार्फत खरिद गर्न सकिने बताएको छ।
त्यस्तै, 'मिलारेपा' नाटक बौद्ध धर्मावलम्बीहरूका लागि मात्र नभई, सर्वसाधारण दर्शकहरूका लागि पनि जीवनको यथार्थ सत्य, धर्मको मर्म, लोभ–क्रोध–अहंकारबाट मुक्त हुने मार्ग तथा आत्ममन्थनको गहिरो अवसर प्रदान गर्नेछ र मिलारेपाको त्याग, पश्चात्ताप र कठोर साधनाले दर्शकलाई आफ्नै जीवनमाथि पुनः सोच्न प्रेरित गर्ने विश्वास आयोजकको रहेको छ ।
नाटक बेलायतमा प्रस्तुत् गर्न नाटकका निर्देशकसँग विशेष समन्वय गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका बीसीसी यूकेका महासचिव मेजर कुमार गुरुङ एमभिओले मानव जीवनलाई सकारात्मक दिशातर्फ मोड्ने उक्त ऐतिहासिक नाटक हेर्न सम्पूर्ण यूकेवासी नेपाली समुदाय, संघ–संस्था, गुम्बा, मन्दिर तथा कला–संस्कृतिप्रेमी दर्शकहरूलाई हार्दिक आग्रह गरेका छन् ।