लन्डन । लोकप्रिय गायक मौसम गुरुङ बेलायत आइपुगेका छन् ।
गोर्खा जिल्ला गुरुङ समाज यूकेको निमन्त्रणामा गायक मौसम बिहीबार लन्डनस्थित हिथ्रो विमानस्थल ओर्लिएका हुन् । गायक गुरुङको स्वागतका लागि गोर्खा जिल्ला गुरुङ समाज यूकेका पूर्वअध्यक्ष फडकजीत गुरुङ, धर्मपत्नी टीका गुरुङ, सल्लाहकार टकमान गुरुङ, सदस्य खड्क गुरुङ र श्रीमती दुरमाया गुरुङ, गुरुङ सोसाइटी केन्ट यूकेका अध्यक्ष गोलमान गुरुङलगायत एयरपोर्ट पुगेका थिए ।
उनले यही २६ डिसेम्बर २०२५ मा गोर्खा जिल्ला गुरुङ समाज यूकेको त ल्हो ल्होछार कार्यक्रममा प्रस्तुति दिनेछन् । समाजले अल्डरसटस्थित एम्पायर हलमा ‘त ल्हो ल्होछार महोत्सव २०२५’ आयोजना गर्न लागेको जनाएको छ ।
मौसमसँगै सुनिला गुरुङको प्रस्तुति रहने छ । कार्यक्रम बिहान १० बजे सुरु हुने जनाइएको छ । टिकटदर १२ वर्षभन्दा माथिलाई २५ पाउन्ड, ६ देखि १२ वर्षसम्मलाई १५ पाउन्ड तोकिएको समाजले जनाएको छ ।
तमुहरूले यस वर्ष सर्प वर्गको बिदाइ तथा घोडा वर्गलाई स्वागत गर्दै ल्होछार मनाउन लागेका हुन् ।
को हुन् गायक मौसम गुरुङ
दर्जनौं लोक तथा दोहोरी गीतका गायक मौसम गुरुङलाई संगीत पारखीले कौडा, झ्याउरेका रूपमा चिन्छन् । गोरखाको गण्डकी गाउँपालिका–४ फुजेलमा जन्मिएका मौसमले गुरुङसँगै जापानी फिल्ममा समेत अभिनय गरेका छन् । उनी लोप हुन लागेको परम्परागत वेषभूषा लुंगी, दौरा सुरुवाल, सारी र चोलीको पनि संरक्षण गर्नुपर्नेमा जोड दिन्छन् ।
मौसमले हालसम्म २०० संख्यामा गीत गाइसकेका छन् । ‘सबै गीत फरक–फरक विधाका भए पनि आ–आफ्नै क्षेत्रका मौलिकतामा आधारित छन् । लोकदोहोरी, कौडा, झ्याउरे, सालैजो, सोरठीलगायतका विधाका गीत गाएको छु,’ उनी भन्छन् ।
उनी पुराना मौलिक संस्कार र संस्कृति झल्काउने दौरासुरुवाल, सारी ब्लाउज र गुन्यूचोली हराउँदै जान थालेकोमा चिन्तित हुँदै म्युजिक भिडियो निर्माताहरूले यस्ता संस्कृतिलाई स्थान दिनुपर्ने बताउँछन् । ‘बजारमा उत्शृंखल र भड्किला पहिरनका भिडियो आउन थाले । भिडियोको टिमले यस्ता सिर्जनाको सट्टा मौलिक संस्कृति झल्काउने पहिरनको संरक्षण र प्रयोगमा ध्यान दिनुपर्छ,’ मौसम सुझाव दिन्छन् ।
गायनसँगै पर्यटन व्यवसायमा पनि आबद्ध मौसमका २ दर्जन नयाँ गीत तयारी अवस्थामा छन् । ती गीत सालैजो, कौडा, झ्याउरे, गुरुङ विधाका छन् ।
मौसमका चर्चित गीतहरुमा 'माइली', 'चरी बस्यो अरेली गाँजैमा','फुल्यो बलीजाई','गण्डकीको तिर', 'चौतारीमा पिपलु र वर छ नि', 'देउरालीलाई फूलापती धजा छ', 'मुग्लिन पुल तरी'लगायत छन् ।