लन्डन । बेलायतवासी मीन कोन्मे गुरुङ, भोजबहादुर गुरुङलगायतको लगानीमा रहेको फिल्म ‘पेन्सन पट्टा’ को छायांकन सुरु भएको छ ।
अभिनेता तथा निर्देशक माओत्से गुरुङले कास्कीको रमणीय हिमाली गाउँ ताङतिङबाट उक्त चलचित्रको छायांकन गराएका हुन् । मुहूर्त पूजासहित छायांकन थालिएको हो । ३५ दिनसम्म उक्त आसपासमा फिल्म खिचिनेछ ।
तमु धीं यूकेका संस्थापक अध्यक्ष समेत रहेका मिनप्रसाद गुरुङले भने, 'रमणीय सुन्दर ताङ्तिङ गाउँमा माओत्से गुरुङको निर्देशनमा पेन्सन पट्टा फिल्म आज (बिहीबार)देखि छायांकन सुरु भएको छ । मुख्य नायकमा सबैको पपुलर दयाहाङ राई, विल्सन बिक्रम राई, बुद्धि तामाङ जस्ता ख्यति प्राप्त कलाकारहरु छन् । बेस्ट विसेस ।'
दशकदेखि गुरुङ फिल्ममा सक्रिय माओत्से पछिल्लो समय नेपाली भाषाका फिल्ममा पनि ब्यस्त छन् ।‘दयारानी’ पछि उनको यो दोस्रो नेपालीभाषी फिल्म हो । ‘दयारानी’ बक्सअफिसमा हिट भएको थियो ।
‘पेन्सन पट्टा’ मा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, पुस्कर गुरुङ , सुनिल थापा, राज थापा काउचा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राईको अभिनय हुनेछ । कला निर्देशकमा राजु याक्चा छन् ।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा बन्ने फिल्मको लगानीकर्तामा मीन कोन्मे गुरुङ, भोजबहादुर गुरुङ, सपना गुरुङ छन् । लोभी केटा कसरी दानी बन्छ भन्ने कथावस्तुमा फिल्म निर्माण हुन लागेको हो ।