लन्डन । सातौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी ३ दिने सिकाई सम्मेलन काठमाडौंमा भब्यताका साथ सम्पन्न भएको छ ।
मदन पुरस्कार बिजयी लेखक एवम् मर्यादित महिनावारी अभियन्ता डा राधा पौडेलको अगुवाईमा राधा पौडेल फाउन्डेशन र ग्लोबल साउथ कोआलिजन फर डिग्नीफाईड मेन्स्ट्रुएसनले १६ दिने लैंगिक हिंसाविरुद्ध अभियानको १४औं दिन ८ डिसेम्बरबाट द मल्ल होटेलमा १२ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न गरेको हो ।
राधा पौडेल फाउन्डेशन र ग्लोबल साउथ कोआलिजन फर डिग्नीफाईड मेन्स्ट्रुएसनले २०१९ बाट अन्तर्राष्ट्रिय मर्यादित दिवसको आयोजना गर्दै आइरहेको छ । सम्मेलनमा यस पटक नेपाललगायत विश्वका २१ राष्ट्रहरुबाट कुल १४० जना प्रतिनिधिहरुको सहभागिता थियो ।
सम्मेलनले महिनावारी बिभेदलाई असमान शक्ति सम्बन्ध,पितृसत्ता र सामाजिक बहिष्कारको मूल कारणका रुपमा मान्यता दिनुपर्ने निष्कर्षसहित १२ बुँदे घोषणापत्र जारी गरेको छ । यसलाई "हानीकारक परम्परागत अभ्यास" भित्र नराखी विशेष प्रकारको विभेदको रुपमा सम्बोधन गर्नुपर्ने पनि सम्मेलनको निष्कर्ष छ ।
'मर्यादा, समानता र मानव अधिकारका लागि मर्यादित महिनावारी' भन्ने मूल नाराका साथका आयोजित सम्मेलनमा महिनावारी विभेदका प्रभावहरुको बैश्विक नक्सा, त्यसले उत्पादन गर्ने लैंगिक तथा यौनिक हिंसा, स्वास्थ्य, जलवायु न्याय, शिक्षा क्षेत्रमा पार्ने असर, अपांगता, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र ज्येष्ठ नागरिकका सन्दर्भमा देखिने चुनौतीहरुबारे गहन छलफल भएको थियो ।
सम्मेलनले महिनावारी विभेदलाई "हानीकारक परम्परागत अभ्यास"का रुपमा मात्रै होइन, स्वतन्त्र र विशिष्ट मानव अधिकार उल्लंघनका रुपमा संबोधन गर्नुपर्ने, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, एचआईभी, शिक्षा बालअधिकार तथा सार्वजनिक स्वास्थ्यका सबै संवादमा मर्यादित महिनावारीलाई प्रवेश बिन्दुका रुपमा राखिनुपर्ने, अपांगता अधिकार, यौनिक तथा लैंगीक अल्पसंख्यक समुदायको अधिकार तथा ज्येष्ठ नागरिकसम्बन्धी नीतिमा मर्यादित महिनावारीको ढाँचा अनिवार्य रुपमा समायोजन गर्नुपर्ने साथै संयुक्त राष्ट्रसंघले ८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका रुपमा आधिकारक मान्यता दिनुपर्ने आह्वान र प्रतिबद्धता प्रस्तुत गरेको छ ।
महिनावारी व्यवस्थापन सामग्रीमा करसम्बन्धी नीति र संवादमा “महिनावारीका कुरा मर्यादाकेन्द्रित भएमात्रै हुन्छ पूरा” भन्ने दृष्टिकोण लागू गर्नुपर्ने, औपचारिक तथा अनौपचारिक कार्यस्थल, खेलकुदलगायतमा महिनावारी तथा रजोनिवृत्तिसम्बन्धी विभेद अन्त्यका लागि विशेष रणनीतिहरू समावेश गर्नुपर्ने माग पनि सम्मेलनले गरेको छ ।

नेपालको सन्दर्भमा, सम्मेलनले राष्ट्रियसभाले पारित गरेको मर्यादित महिनावारीसम्बन्धी संकल्प प्रस्तावलाई नीतिगत र कानुनीस्तरमा कार्यान्वयन गर्न सरकार, संसद् तथा सम्बद्ध निकायलाई आग्रह गरेको छ । साथै, अन्य मुलुकहरूले पनि संसद्मा मर्यादित महिनावारीलाई मुख्य एजेन्डाका रूपमा उठाउँदै नीति निर्माण अघि बढाउन पहल गर्ने निस्कर्ष निकालेको छ ।
सम्मेलनमा यौनिक तथा लैंगीक अल्पसंख्यक समुदायले भोगिएको महिनावारी विभेद, अपाङ्गता भएका व्यक्तिहरुले भोगेको महिनावारी विभेद र त्यसको असर पारेको अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
ग्लोबल साउथ कोआलिजन फर डिग्नीफाईड मेन्स्ट्रुएशन, राधा पौडेल फाण्डेसनको आयोजना र राष्ट्रिय युवा परिषद् तथा MenEngage Alliance (Global)को सह–आयोजनामा सम्पन्न तीन दिने सम्मेलनमा कला–साहित्य, नेपालको शिल्पी थिएटरका कलाकारहरुबाट महिनावारी विभेदबारे नाटक प्रदर्शन, बालबालिका र महिनावारी नहुने व्यक्तिको भूमिका, धार्मिक अगुवाहरूको सहभागिता र मिडियाको योगदान जस्ता सामाजिक आयामहरूमा पनि छलफल भएको थियो ।
८ डिसेम्बरको बिहान राधा पौडेल फाउन्डेशन र ग्लोबल साउथ कोआलिजन फर डिग्नीफाईड मेन्स्ट्रुएशनका संस्थापक अध्यक्ष डा राधा पौडेल, नेपाललगायत २१ राष्ट्रहरुबाट सहभागी प्रतिनिधिहरु सबै मिलेर सातौ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको ब्यानर र बेलुनको झुप्पा आकाशमा उडाएर सम्मेलन उद्घाटन गरिएको थियो । त्यसलगत्तै स्टेजमा सामूहिक राष्ट्रिय गानपश्चात् दार्जीलिङकी लोकप्रीय गायिका जुनु गौतम जुनले राधा पौडेलद्वारा रचित - "मबाट महिनावारी, चलिरहेछ संसार यो भएर महिनावारी..." बोलको गीत गाएर सम्मेलन अगाडि बढाइएको थियो । औसत नेपाली कार्यक्रममा जस्तो आसन र भाषणमा समय खर्चिएको थिएन ।
सम्मेलनमा संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, नेपालका लागि फ्रान्सका राजदूत भर्जिनीया कोर्टवल, राष्ट्रियसभा सदस्य गरिमा शाह (मदनकुमारी शाह)ले शुभकामना मन्तव्य दिँदै नेपालबाट राधा पौडेल एक्लैले सुरु गरेको यो अभियानलाई बिश्वब्यापी बनाएर अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसलाई बिश्वब्यापी बनाउन सफल भएकोमा बधाई ज्ञापन गरे । उनले आआफ्नो क्षेत्रबाट यस अभियानमा सक्दो हातेमालो गरेर साथ दिने प्रतिबद्धता जनाएका थिए ।
सम्मेलनमा उद्घाटन र समापन मन्तव्य फाउन्डेशनकी कार्यक्रम संयोजक सपना पौडेलले ब्यक्त गर्दै, सरकारी तथा गैरसरकारी अतिथिहरु, देश विदेशबाट सहभागी हुन आएका प्रतिनिधिहरु, प्रायोजकहरु, आईटी टीम, मिडिया पार्टनर्स सबैलाई एकमुष्ट आभार प्रकट गरेकी थिइन् ।