लन्डन । नेपालमा रहेकी गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेकी पूर्वअध्यक्ष तथा तमु धीं यूके आमा समूहकी संस्थापक अध्यक्ष पुनम गुरुङलाई तमु (गुरुङ) कलाकार संघ नेपालले स्वागत, सम्मान गरेको छ ।
काठमाडौं मित्रनगरस्थित संघको कार्यालयमा सोमबार ७ डिसेम्बरमा एक समारोहबीच समाजसेवी गुरुङलाई स्वागत, सम्मान गरिएको हो । उनलाई संस्थाका अध्यक्ष सागर गुरुङ, संस्थापक अध्यक्ष राजु गुरुङलगायत वर्तमान र पूर्व पदाधिकारी तथा सदस्यहरुले पछ्यौरा र खादाद्वारा सम्मान गरेका थिए ।
पुनमसँगै हङकङबाट आएकी तमु समाज महिला विभाग अध्यक्ष राधा गुरुङ, जिफान हङकङ उपाध्यक्ष ओम गुरुङ, गोरखा जिल्ला गुरुङ समाज यूकेका उपाध्यक्ष राजकुमार गुरुङ, प्रकाश गुरुङ समाजसेवी यूकेलाई पनि स्वागत गरिएको थियो ।

कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै पुनमले आफ्नो कला र गला नभए पनि गीतसंगीत सानैदेखि आफूलाई मनपर्ने गरेको बताइन् । उनले गुरुङ कलाहरुहरुले आफ्नो भाषा, कला, संस्कृतिलाई एउटै छातामा रहेर संसारभर चिनाइरहेको र पहिचान बोकेर हिँडिरहेको भन्दै त्यसको प्रशंसा गरिन् । उनले कलाकारले दिएको योगदानको विदेशमा बसेका तमु र गैरतमुले गौरव गरिरहेको समेत उल्लेख गरिन् ।
'म्युजिक र कला यस्तो चिज रहेछ कि दु:खमा पनि मन पर्दोरहेछ । सुखमा पनि मन पर्दोरहेछ,' उनले थपिन्, 'मेरो बुबा बितेको तीन महिना पुगेको छ । यो पीडामा मलाई संगीतले मेडिटेसन दिइरहेकोले यस बेला कलाकारलाई झनै नजिक ल्याउन सहयोग पुगेको छ ।' कलाकारहरुका लागि बेलायतमा तमु धीं यूकेले हरेक साल ल्होछारमा बोलाएर समुदायको कला, संस्कृति र भाषालाई प्रमोर्ट गर्ने काम गरिरहेको उनको भनाइ छ ।
पूर्वअध्यक्ष गुरुङले कलाकारले आफूहरुबाट के चाहन्छ, त्यो स्पष्ट राखेमा यूकेमा सन्देश लैजाने वचनबद्धता जनाइन् । कला र कलाकारको हितका लागि गुरुङ कलाकार संघले अन्तर्राष्ट्रिय समन्वय टिम बनाउनुपर्ने सुझावसमेत उनको छ । आउँदो दिनमा संस्थागत र व्यक्तिगत तर्फबाट सहयोग गर्ने समेत पूर्वअध्यक्ष गुरुङले प्रतिबद्धता व्यक्त गरिन् । सँगै आफूलाई स्वागत, सम्मान र भेटघाटको वातावरण मिलाएकोमा आयोजक संस्थालाई उनले धन्यवाद दिइन् ।
तमु कलाकार संघका अध्यक्ष सागर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव बलबहादुर गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रममा गुरुङ समुदायका चर्चित र नयाँ कलाकारहरुको उपस्थिति थियो ।
