लन्डन । नेपाली चलचित्र ‘एक्लो’को विश्व प्रिमियर अमेरिकाको न्युयोर्कमा हुने भएको छ । आगामी २८ डिसेम्बरमा न्युयोर्कस्थित प्रतिष्ठित Museum of the Moving Image प्रिमियर हुने भएको हो ।
चलचित्रका निर्देशक प्रदीप शाहीले न्युयोर्कमा चलचित्रको प्रिमियर गर्न पाउनु अविश्वसनीय अनुभव हुने बताएका छन् ।
प्रिमियरअघि कास्ट रिभिल तथा ‘मिट एन्ड ग्रिट’ कार्यक्रम गर्ने तयारी छ । टिकट बुकिङ खुला भएको र दर्शकलाई शीघ्र टिकट सुरक्षित गर्न पनि आग्रह गरिएको छ ।
यसअघि दुई वटा चलचित्र निर्देशन गरिसकेका शाही लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका छन् । एक्लो चलचित्र हलिउडस्तरको प्रविधि र प्रस्तुतिसहित निर्माण भएको बताइएको छ । यसले विश्वविख्यात कान्स फिल्म फेस्टिभलमा स्टलमार्फत आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति जनाइसकेको छ ।
चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ लगायत बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह, तथा बेलायती अभिनेता जेमी बेकनको अभिनय रहनेछ ।
एनआरएन समूहको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् । चलचित्रमा अभिनेता प्रदीप खड्काले पनि लगानी गरेका छन्। विदेशमा रहेर नेपाली कला र सिनेमा क्षेत्रमा केही गरौँ भन्ने समूहले नेपाली चलचित्रको बजार अन्तर्रास्ट्रिय स्तरमा बिस्तार गर्नसमेत विशेष योजना बनाएका छन् ।
चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका हुन् । द्वन्द्व निर्देशनमा राजु तामाङ, सेट डिजाइनमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा, र प्रोडक्सन डिजाइनमा द्रोण प्रसाद पौडेल ‘ठेउके’ संलग्न छन् ।