काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले बुधबार सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवनको आकस्मिक निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री घिसिङले रातको समयमा त्यहाँ भइरहेको कामको जानकारी लिएका थिए ।
आगामी फागुन २१को चुनावपछि आउने नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बस्ने स्थान नै नभएको अवस्थामा मन्त्री घिसिङले पटक पटक तीन सिफ्टमा काम गराउन सहरी विकास मन्त्रालयका अधिकारी र निर्माण व्यवसायीलाई निर्देशन दिएका थिए ।
तर, बुधवार भएको आकस्मिक भ्रमणका क्रममा मन्त्री घिसिङले तीन सिफ्टमा काम गर्ने भनिएको तर फिल्डमा नदेखिएको बताए । उनले तीन सिफ्टमा काम गरी निर्माण सम्पन्न नगरेमा निर्माण व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिए । त्यस्तै, घिसिङले नियमित सुपरिवेक्षण गर्ने आयोजना व्यवस्थापन र परामर्शदातालाई पनि कारबाही गरिने बताए ।
संसद् भवन निर्माण एकदमै महत्त्वपूर्ण भएकाले आगामी चैत अगाडि नै निर्माण सम्पन्न हुनु पर्ने उल्लेख गर्दै मन्त्री घिसिङले उक्त समयमा निर्माण सम्पन्न नभएमा लापरबाही गर्ने सबैलाई कारबाही गरिने चेतावनी दिए ।
संसद् भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोजमा ठेक्का सम्झौता भएको थियो । पाँचौँपल्ट थपिएको ठेक्का सम्झौताको म्याद आगामी १६ पुसमा सकिँदै छ । आयोजनाको सिभिललगायतका संरचना निर्माणको प्रगति करिब ८७ प्रतिशत रहेको छ ।
इन्टेरियर, सुरक्षा प्रणालीलगायतका काम गर्न २०८०मा अर्को ठेक्का सम्झौता भएको थियो । यस प्याकेजको निर्माण प्रगति ३० प्रतिशत रहेको छ ।