पोखरा । एनआरएनए यूकेकी पूर्वअध्यक्ष, तमु धीं यूके आमा समूहकी संस्थापक अध्यक्ष पुनम गुरुङलाई तमु धिं नेपालमा स्वागत, सम्मानका साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।
सामाजिक सेवा, नागरिक पैरवी एवम् नागरिक अधिकारका लागि क्रियाशील समाजसेवी गुरुङ नेपाल आगमनको अवसरमा तमु धिं नेपालले पोखरा-९ नयाँबजारस्थित तमु धिं नेपालको सभाहलमा स्वागत सम्मान एवं अन्तरक्रिया कार्यक्रम गरेको हो ।
तमु समुदायको उदाहरणीय व्यक्तित्व गुरुङलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संरक्षक परिषद् सहसंयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ, तमु धिं नेपालका वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ, तमु धिं नेपाल केन्द्रीय आमा समिति अध्यक्ष पवित्रदेवी गुरुङ, युवा अध्यक्ष रमेश गुरुङ, तमु धिं नेपाल कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ, चिउली पाचे तमु समाज अध्यक्ष क्याप्टेनशम्शेर गुरुङलगायत सहभागीहरुले खादा, घलेक, क्रमु, फूललगायत तमु धिं नेपालको वार्षिक प्रकाशन तमु सुँबाट स्वागत गरिएको थियो ।
समाजसेवी पुनमले तमु धिं नेपालको पारिवारिक आत्मिय स्वागतको निम्ति धन्यवाद व्यक्त गर्दै तमु धिं आफ्नो लागि समुदाय, मौलिकता, पहिचान, संस्थागत विकास, समाज बुझाउने पाठशाला साथै जीवन सिकाउने धरोहर भएको बताइन् । तमु धिं नेपालसँगको सम्बन्ध, संस्थापक अध्यक्ष कर्म तमु आफ्नो रोलमोडल र वर्तमान अध्यक्ष हुमबहादुर गुरुङको नेतृत्वबाट अति नै प्रभावित रहेको भन्दै उनले आफू जहिले पनि तमु धिंसँगै रहिरहने बताइन् ।
उनले गैरआवासीय नेपाली, गोर्खाज, तमु समुदाय, अधिकार, नवयुवा पुस्ता, राजनीतिक चेतना साथै सहभागिताको विविध पक्षमा आफ्ना अनुभव, उठाइएका आवाज, अभियान, भूमिका साथै योगदानको बारेमा जानकारी एवं अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो ।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङले गरेका थिए । साथै सहभागीहरुले समाजसेवी गुरुङको योगदान र अभिव्यक्तिबाट आफूहरु प्रोत्साहित भएको बताएका थिए ।
स्वागत, सम्मान, अन्तरक्रिया कार्यक्रम साथै समाजसेवी पुनम गुरुङले तमु धिं नेपालको पछिल्लो क्रमको भौतिक विकास एवम् गुरुङ संग्रहालयको अवलोकन गरेकी थिइन् ।





