काठमाडौँ । नेकपा माओवादी केन्द्रले वर्तमान केन्द्रीय समिति भंग गरी आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ ।
राजधानीको प्रज्ञा भवनमा बिहीबारदेखि शुरू भएको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठकले महाधिवेशन आयोजक समितिका संयोजकको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ। मौजुदा केन्द्रीय सदस्य आयोजक समितिका सदस्य हुनेछन्। महाधिवेशन आयोजना र पार्टीको दैनिक कामकाजका लागि मौजुदा पदाधिकारी रहेको सचिवालय निर्माण गरिने प्रवक्ता सापकोटाले जानकारी दिए ।
महाधिवेशनमा जेनजी युवाको अधिकतम सहभागिताका लागि वातावरण तयार गरिने प्रवक्ता सापकोटाले बताए । माओवादीले पार्टी नेताको सम्पत्ति विवरण छानबिनका लागि आयोग गठन गर्ने निर्णय गरेको छ ।
बैठकले पदाधिकारीबाटै सम्पत्ति छानबिन शुरू गर्ने निर्णय गरेको छ । बैठकले केन्द्रीय कार्यालय, नेताको सचिवालय र परिवारको व्यवस्थापनमा नयाँ ढंगले सोच्ने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।
माओवादीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र गम्भीर संकटमा रहेको निष्कर्ष निकाल्दै समाजवादी मोर्चामा रहेका दलबीच ध्रुवीकरणको प्रक्रिया अघि बढाउने र विचार मिल्नेसँग सहकार्य गर्ने निर्णय गरेको छ ।
क्षतिग्रस्त सरकारी संरचनाको सम्बन्धित निकायसँग समन्वय गरी पुनर्निर्माणका लागि पहल गर्ने तथा पार्टीका क्षतिग्रस्त संरचना र अन्य संरचना निर्माणका लागि पार्टीका तर्फबाट पहलकदमी लिने माओवादीको निर्णय छ ।
तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन र तयारीमा सम्पूर्ण रूपमा होमिने निर्णय गरेको छ । जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी तथा सामाजिक अराजकताका कारण जनतामा असुरक्षा बढेको निष्कर्ष निकाल्दै माओवादीले स्थानीय जनताको जीउधनको सुरक्षाका लागि विभिन्न तहमा जनसंयोजक परिचालन गर्ने निर्णय गरेको छ ।