काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा सरकारलाई सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । संघका अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर उक्त प्रतिबद्धता जनाएको हो ।
विश्वभरिका गैरआवासीय नेपालीहरू नेपाललाई समृद्ध बनाउन जुनसुकै किसिमको सहयोगका लागि प्रतिबद्ध रहेको भन्दै अध्यक्ष डा. केसीले आन्दोलनका क्रममा देशमा भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गरे । पुनर्निर्माणका लागि र मुलुकको कठिन घडीलाई सम्बोधन गर्न संघ सदैव सरकारसँग हातेमालो गर्न तत्पर रहेको उनको भनाइ थियो ।
जवाफमा प्रधानमन्त्री कार्कीले राष्ट्र पुनर्निर्माणको लागि विदेशमा रहेका गैरआवासीय नेपालीहरूलाई आग्रह गरिन् । पुनर्निर्माणका लागि नेपाली र गैरआवासीय नेपालीहरूसँग मात्रै सहयोग लिने र अपुग भए मात्रै विदेशबाट सहयोग लिने उनले स्पष्ट पारिन् । उनले मुलुकमा आर्थिक समृद्धिका लागि आ–आफ्नो स्थानबाट सहयोग पुर्याउन आग्रह गरिन् ।
भेटमा अध्यक्ष डा. केसीले ‘एकपटकको नेपाली सदैव नेपाली’ भन्ने मूल उद्देश्यअनुरूप संविधान संशोधनमार्फत गैरआवासीय नेपालीहरूलाई वंशजको नागरिकताको निरन्तरतासहितको नेपाली नागरिकता उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्न तथा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोजन सहज रूपमा प्रत्याभूत गर्न अनुरोध गरे।
अब हुने ऐतिहासिक निर्वाचनमा विदेशमा रहेका नेपालीहरूका लागि मताधिकार सुनिश्चित गर्नसमेत अनुरोध गरे । साथै, उनले गैरआवासीय नेपाली संघको १२औँ महाधिवेशन आगामी ६ महिनाभित्रै गर्न लागिएको जानकारीसमेत गराएका थिए ।
प्रधानमन्त्री कार्कीले संघको मताधिकारलगायत अन्य मागलाई सकारात्मक रूपमा लिएको तथा आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरूलाई विदेशबाटै मतदान गर्ने व्यवस्था मिलाइने आश्वासन दिइन् ।