पोखरा । स्टार्स स्टुडियो प्रालिको नवौँ वार्षिकोत्सव तथा स्टार्स फाउन्डेसन नेपालको छैटौँ वार्षिकोत्सवको अवसरमा आयोजित स्टार्स एकल नृत्य प्रतियोगिता २०८२ र स्टार्स खुल्ला कविता प्रतियोगिता २०८२को फाइनल असोज ७ गते हुने भएको छ ।
पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा आयोजना हुने कार्यक्रमको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । प्राविधिक र व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाका अध्यक्ष जसु गुरुङले जानकारी दिइन् ।
कविता प्रतियोगिताको अन्तिम दिन असोज ३ गतेसम्म रहेको थियो । प्राप्त भएका १०० कवितामध्येबाट उत्कृष्ट १० छनोट असोज ५ गते गरिनेछ । उक्त कविहरूका कविता फाइनल कार्यक्रममा प्रस्तुत गरिनेछन् । मौलिक कवितालाई छनोटमा विशेष प्राथमिकता दिइने जनाइएको छ ।
कविता प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १० हजार र तृतीय हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । दुई जना सान्त्वना विजेतालाई २ हजार ५०० रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट १० कविता युट्युबमार्फत सार्वजनिक गरिने छ ।
नृत्य प्रतियोगितामा जुनसुकै उमेर समूहका सहभागीले भाग लिन सक्नेछन् । इच्छुकले असोज ५ गतेभित्र ५०० रुपैयाँ दर्ता शुल्कसहित नाम दर्ता गराउनु पर्नेछ । प्रतियोगितामा नेपाली मौलिकता झल्कने नृत्यलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ ।
नृत्यको विजेताले ३० हजार, उपविजेताले १५ हजार र तृतीय हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
पोखरा, न्युरोडस्थित कार्यालयबाट सञ्चालनमा रहेको स्टार्स स्टुडियो नेपाल नेपाली मौलिक लोक संस्कृति, भेषभूषा र सांस्कृतिक नृत्यहरूको संरक्षण र प्रवर्द्धनमा क्रियाशील संस्था हो । यस संस्थाले लोक नृत्य प्रशिक्षण, फिल्म निर्माण, इभेन्ट म्यानेजमेन्टलगायत कार्य गर्दै आएको छ ।
स्टार्स फाउन्डेसन नेपालले विभिन्न सामाजिक सेवाका क्षेत्रमा योगदान पुर्याउँदै आएको छ । दुवै संस्थाले कला, संस्कृति तथा साहित्यको क्षेत्रमा युवाहरूलाई प्रेरित गर्ने उद्देश्यले यस्ता प्रतियोगिता आयोजना गर्दै आएका छन् ।