पोखरा । मिर्गौलापिडीत सनी गुरुङको उपचारार्थ पन्चकोशी आर्थर डाँडाखर्क समाज यूकेले ४ लाख २८ हजार ५०० रुपैयाँ सहयोग गरेको छ ।
पन्चकोशी आर्थर डाँडाखर्क समाज यूकेका पूर्वकोषाध्यक्ष तथा तमु समाज यूकेका निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ र समाज पोखराका अध्यक्ष सई कमल गुरुङले शुक्रबार, असोज ३ गते संयुक्त रूपमा सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा आर्थर डाँडाखर्क गुम्बाको तर्फबाट सल्लाहकार गोपाल गुरुङ र पन्चकोशी आर्थर डाँडाखर्क समाज यूकेको तर्फबाट सनी गुरुङलाई खादा अर्पण गरी शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो ।
मिर्गौलापीडित ४२ वर्षीयता गुरुङ पर्वतको कुस्मा–१४ ठाँडस्वारा घर भई हाल पोखरा–१७ छोरेपाटन बसोबास गर्दै आएकी छन् । दुवै मिर्गौलामा समस्या देखिएपछि लामो समयदेखि उपचाररत उनी पन्चकोशी आर्थर डाँडाखर्क समाज पोखराका आजीवन सदस्य सोमबहादुर गुरुङकी छोरी हुन् ।

उनको उपचारका लागि पन्चकोशी आर्थर डाँडाखर्क समाज पोखराले आर्थर डाँडाखर्क समाज यूकेसँग आर्थिक सहयोगको अपिल गरेको थियो । सोही अनुरोधपछि संस्थाका अध्यक्ष धिराज गुरुङले यूकेमा रहेका समाजका सदस्य तथा चेलीबेटीहरूलाई सहयोग गर्न आग्रह गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा शिवकुमार गुरुङले समाजका अध्यक्ष धिराज गुरुङ र सदस्य तथा चेलीबेटीको तर्फबाट बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सबैलाई सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
अध्यक्ष सई कमल गुरुङ र सनी गुरुङका पिता सोमबहादुर गुरुङले छोरीको उपचारका लागि ठूलो रकम सहयोग गरेकोमा पन्चकोशी आर्थर डाँडाखर्क समाज यूकेका अध्यक्षदेखि सम्पूर्ण सदस्य, चेलीबेटी तथा आफन्तजनप्रति कृतज्ञतासहित धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा शिवकुमार गुरुङले पन्चकोशी आर्थर डाँडाखर्क समाज यूकेको स्थापनादेखि नै नेपालमा आफ्ना गाउँवासीको सुख–दुःखमा साथ दिँदै आइरहेको र विभिन्न परिस्थितिमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको बताए ।
कार्यक्रममा पन्चकोशी समाज यूकेका प्रतिनिधि एवं पूर्वकोषाध्यक्ष तथा तमु समाज यूकेका निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ, पोखराका अध्यक्ष सई कमल गुरुङ, महासचिव राजकुमार गुरुङ, कोषाध्यक्ष धिराज गुरुङ, कार्यसमिति सदस्य भरत गुरुङ, सल्लाहकार गोपाल गुरुङ, सल्लाहकार राजबहादुर गुरुङ तथा स्थानीय शुभेच्छुकहरूको उपस्थिति थियो ।