काठमाडौँ । नेपाल सरकारले असोज १ गते राष्ट्रिय शोक मनाउने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा असोज १ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
साथै, १ गते दिन सार्वजनिक बिदा दिने र ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय झन्डा ओढाउने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ।
‘जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय भएको छ,’ उनले भने, ‘साथै, असोज १ गते शोक दिवस मनाउनका लागि सार्वजनिक बिदा दिने र राष्ट्रिय झन्डा ओढाउने निर्णय पनि गरिएको छ।’
सरकारले आन्दोलनका मृतकको सम्मानमा स्मृति पार्क निर्माण गर्ने र घाइतेहरूको पनि निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ।
उनका अनुसार मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र अन्य खर्चका लागि थप ५ लाख गरी जम्मा १५ लाख रुपैयाँ उपलब्ध गराइनेछ। यो रकम अर्थ मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट वितरण गरिनेछ।
सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति बनाउने निर्णय पनि गरेको छ।
भ्रष्टाचार निर्मूल गर्नका लागि थप संरचना र उपायबारे भने अझै विचार-विमर्श भइरहेको र पछि छलफल गरिने उनले बताए।