लन्डन । गोर्खा मिडिया लिमिटेड यूकेले यही सेप्टेम्बर १४ मा पाँचौं वार्षिकोत्सव मनाउने भएको छ ।
समाजसेवी, कलाकार, प्रायोजकहरु र कर्मचारीको सम्मानलगायत विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउने तयारी रहेको प्रबन्ध निर्देशक मिलन तमु गुरुङले जानकारी दिए । गोर्खामिडियाडटकम छैटौं वर्षमा प्रवेशको अवसरमा आयोजना हुने कार्यक्रममा नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख विपिन दुवाडी प्रमुख अतिथि रहने छन् ।
कार्यक्रम अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा हुनेछ । समय दिउँसो साढे १ बजेका लागि तय गरिएको आयोजकले जनाएको छ ।
बेलायतमा रहेका नेपाली समुदायमाझ सत्य र निष्पक्ष पत्रकारिताको रिक्तता परिपूरण गराउने उद्देश्यले गोर्खा मिडिया सन् २०२० सेप्टेम्बर १४ मा स्थापना भएको हो । सेवानिवृत्त गोर्खा, फोटो पत्रकार तथा समाजसेवी मिलन तमुको एकल स्वामित्वमा 'सूचना र समाजिक सेवा सँगसँगै' मुख्य सन्देशसहित सुरु गरिएको यो समाचार संस्थाले विभिन्न कठिनाइका बाबजुत अविछिन्न यात्रामा अघि बढिरहेको छ ।
यस मिडियाले पहिलो वार्षिकोत्सव-२०२१ सेप्टेम्बर १४ गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहामगरको प्रमुख आतिथ्यतामा मनाएको थियो । गोर्खा मिडिया वार्षिक स्रष्टा सम्मान जनही नगद १० हजार रुपैयाँ र प्रमाणपत्रसहित पर्वतका अग्रज कलाकार नन्दा पुनमगर र लमजुङका अग्रज कलाकार तथा अभिनेता गजेन्द्र गुरुङलाई प्रदान गरिएको थियो ।
उत्कृष्ट कर्मचारी सम्मानतर्फ पत्रकार टीकाराम तामाङ २० हजार नगद र प्रमाणपत्र तथा प्राविधिकतर्फ ओम लामा १० हजार नगद र प्रमाणपत्रसहित सम्मानित भएका थिए ।
दोस्रो वार्षिकोत्सव-२०२२ सेप्टेम्बर २५ मा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष ध्रुवराज अर्याल थिए । त्यस वर्ष समाजसेवी सम्मान 'माइला-कान्छा अभियान बेलायत'का अभियन्ताद्वय पार्वती गुरुङ (माइला) र माया गुरुङ (कान्छा) लाई प्रदान गरिएको थियो ।
गोर्खा मिडिया वार्षिक स्रष्टा सम्मान जनही नगद १० हजार र प्रमाणपत्रसहित तनहुँका लोकगायक कृष्ण थापामगर र सिन्धुलीकी सेलो गायिका अन्जु थोकर तामाङ सम्मानित भए ।
उत्कृष्ट कर्मचारी सम्मानतर्फ सहसम्पादक स्वयंसेवी प्रकाश गुरुङ २० हजार नगद र प्रमाणपत्र र भिडियो सम्पादक सागर तामाङ १० हजार नगद र प्रमाणपत्रसहित सम्मानित बने ।
तेस्रो वार्षिकोत्सव २०२३ सेप्टेम्बर १७ मा रोयल बोरो अफ ग्रीनवीचका उपमेयर जीत रानाभाटको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त वर्ष समाजसेवी सम्मान साहित्यकार माया गुरुङ र युवा व्यवसायी राजन खकुराललाई प्रदान गरिएको थियो ।
गोर्खा मिडिया वार्षिक स्रष्टा सम्मान लोक तथा दोहोरी गायक रामजी पौडेल र तनहुँका गायक सन्तराज बिक जनही १० हजार नगद र प्रमाणपत्रसहित पुरस्कृत भएका थिए । उत्कृष्ट कर्मचारी सम्मान सञ्चारकर्मी भावना लम्साललाई नगद १० हजार र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
चौथो वार्षिकोत्सव-२०२४ अक्टोबर २० मा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ बेलायतकी अध्यक्ष विमला सेने थिइन् । त्यस वर्ष समाजसेवी सम्मानमा हरि गुरुङ, समाजसेवी तथा अध्यक्ष, तमु धीं यूके, शिवकुमार गुरुङ, समाजसेवी तथा निवर्तमान अध्यक्ष, तमु समाज यूके, ख्यातिप्राप्त युवा व्यवसायी धन तामाङ र युवा समाजसेवी तथा कलाकार सिर्जना गुरुङ सम्मानित भए ।
गोर्खा मिडिया वार्षिक स्रष्टा सम्मान लमजुङकी लोकगायिका माया गुरुङ (देवीमाया थापा) र कास्कीका अभिनेता गमबहादुर गुरुङ जनही नगद १५ हजार रुपैयाँ र प्रमाणपत्रसहित पुरस्तकृत भएका थिए ।
गोर्खा मिडियाले शिक्षा,खेलकुद र विपन्न वर्ग तथा पीडितलाई पनि सहयोग गर्दै आएको छ ।
- नुवाकोटको पञ्चकन्या मावि र मंगल माध्यमिक विद्यालयमा २०८१ सालमा ५० हजार रुपैयाँ बराबरको ड्रम, भलिबल, नेटसहित खेलकुद सामग्री सहयोग प्रदान
- पञ्चकन्या जिल्लाव्यापी क्रसकन्ट्री दौड प्रतियोगिता-२०८० लाई ३१ हजार र २०८१ मा पुरुषतर्फ प्रथम पुरस्कार २२ रुपैयाँ सहयोग प्रदान
- जनकल्याण सामुदायिक पाठशाला, पञ्चकन्या गाउँपालिका-३ मा नुवाकोटलाई दुई पटक गरी ३५ हजार रुपैयाँ
- पोखरामा आयोजित एकल गुरुङ्ग (गीत) नृत्य प्रतियोगितमा प्रथम पुरस्कार ३० हजार रुपैयाँ प्रायोजन र स्टार्स सामूहिक नृत्य प्रतियोगिताका लागि १० हजार रुपैयाँ प्रदान
नेपाल मगर सांस्कृतिक संघ जिल्ला समन्वय कास्कीमार्फत र द्वन्द्वकालका घाइते पञ्चकन्या-४ कुलकुले नुवाकोटका संगीतकर्मी दिनेश तामाङलाई १० हजार नगद प्रदान, तादीकी मिर्गौलापीडित साइँली तामाङलगायत विभिन्न विपन्न नागरिकलाई पनि सहयोग ।
बेलायतवासी गोर्खा परिवारसहित नेपाली ज्येष्ठ नगारिक आमाबुबालाई स्वास्थ्य सुरक्षाका सामग्री मास्क, सेनिटाइजरलगायत कोरोनाकालमा वितरणलगायतका काममा पनि गोर्खा मिडियाले मद्दत पुर्याउँदै आएको छ ।
गोर्खा मिडियाले विभिन्न घुम्ती र मोडहरु पार गर्दै २०२५ अगस्ट ३१ मा भने अर्को जोखिम मोलेर म्युजिकल सोलो विथ पवित्र गुरुङ एन्ड डीएमटी ब्यान्ड च्यारिटी नाइट सानदार ढंगले सम्पन्न गरेको छ । नुवाकोटको दुर्गम पालिका दुप्चेश्वरको वडा नम्बर ४ मा अवस्थित गोल्फुभन्ज्याङ माध्यमिक विद्लालयको सहयोगार्थ आयोजित च्यारिटीको दिनमै ८ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन गर्न सफल भएको छ । गोर्खा मिडियाका प्रमुख मिलन तमु र सहसम्पादक प्रकाश गुरुङको अगुवाइमा भएको च्यारिटी कार्यक्रममा पवित्रा गुरुङको मर्मस्पर्शी प्रस्तुति र दिनेश गुरुङ नेतृत्वको डिएमटी ब्यान्डको धुनमा सहभागीहरु मत्रमुग्ध बनेका थिए ।
