पोखरा । पोखरा महानगरपालिका र दक्षिण कोरियाको चेओगं योङ काउन्टी खेलकुद समितिबीच खेलकुद गतिविधिमा मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध अभिवृद्धि गर्ने समझदारीमा हस्ताक्षर भएको छ ।
पोखरामा मंगलबार एक कार्यक्रमबीच महानगरपालिकाकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र चेओगं योङ काउन्टीका तर्फबाट हान ग्वाङ् सेओकले समझदारीपत्रमा हस्ताक्षर गरे ।
खेल गतिविधिहरूको माध्यमबाट मैत्रीपूर्ण सम्बन्ध अभिवृद्धि, खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरूबीच भ्रमण आदानप्रदान, पोखराका खेलाडीहरूको प्रदर्शनलाई थप सुधार गर्न समन्वय र सहयोग प्रदान गर्ने, कोरियाली खेलकुदसँग सम्बन्धित उत्पादन साथै अन्य वस्तु तथा सेवाहरूको निर्यातका लागि आवश्यक समन्वय तथा सहकार्य गर्ने उद्देश्यले समझदारी गरिएको नगरप्रमुख धनराज आचार्यले बताए ।
उनका अनुसार फुटबल, बक्सिङ, तेक्वान्दो, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, लनटेनिस, एथ्लेटिक्स, म्याराथनलगायत खेलका खेलाडीको दक्षता वृद्धि गर्न यस समझदारीले सहयोग पुग्नेछ ।
यसबाट पोखरेली र कोरियाली खेलाडीहरूबीच नियमित मैत्रीपूर्ण खेलको व्यवस्था मिलाउने र कोरियाली प्रशिक्षकको मार्गदर्शनमा पोखराका खेलाडीको क्षमता अभिवृद्धि गर्नसमेत सहज हुने महानगरले जनाएको छ ।
चेओगं योङ काउन्टी खेलकुद समितिका अध्यक्ष हान ग्वाङ् सेओकले पोखराका खेलाडीहरूको प्रदर्शनमा सुधार गर्न उन्नत प्रविधि र प्रशिक्षण विधिहरू प्रदान गरिने बताए ।
युवा खेलाडीहरू आदानप्रदान, विद्यालयस्तरका खेलकुदका कार्यक्रमहरू सञ्चालन, पोखरामा रहेका खेलकुद संस्थाहरूलाई व्यावसायिक स्तरको सीप विकासमा सहयोग, समग्र पोखरा महानगरभित्रका खेलकुद गतिविधिहरूका सम्भाव्य क्षेत्रहरूको खोजीका लागि आफूहरू तत्पर रहेको उनले बताए ।
सोही प्रकृतिको समझदारी जिल्ला खेलकुद विकास समिति कास्की र चेओगं योङ काउन्टीको बीचमा पनि भएको छ ।