पोखरा । पोखरा महानगरपालिका-९, शिवटोल बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा यूके निवासी सवि गुरुङले आफ्नो जन्मदिनको अवसरमा १ थान प्रिन्टरसहित सम्पूर्ण विद्यार्थीहरुलाई खाजा प्रदान गरेकी छिन् । सोही क्रममा समाजसेवी तथा स्टेशन पोखरा रेष्टुरेन्टकी सञ्चालक सपना गुरुङले आफ्नो स्वर्गीय पिता सुवेदार लालकाजी गुरुङको स्मृति दिवसको अवसरमा बुवा र आमा धनकुमारी गुरुङको नामवाट १ लाख बराबरको अक्षयकोष प्रदान गरिन् ।
स्वागतका क्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक लोचनाकुमारी अधिकारीले सवि गुरुङको सु-स्वास्थ्यका साथ दीर्घजीवनको कामना गरिन् । दाता सपना गुरुङलाई धन्यवाद व्यक्त गरिन् । दाता गुरुङले यसअघि पनि विद्यालयलाई १ थान ४३ ईन्चको स्मार्ट टिभि प्रदान गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै दाता सपना गुरुङले आफ्नो यूके निवासी डेन्टल नर्स भदैनी सवि गुरुङले आफ्नो जन्म दिनको अवसरमा पुनित कार्य गर्ने इच्छा व्यक्त गरेकोमा सहारा विद्यालयलाई पहिलो रोजाईमा राखि यो कार्यक्रम सञ्चालन गर्न पाउँदा खुसी लागेको बताइन् । सोही क्रममा उनले आफ्नो स्वर्गीय पिता सुवेदार लालकाजी गुरुङको स्मृतिमा र आमा धनकुमारी गुरुङको नामबाट विद्यालयको शैक्षिक उन्नयनका लागि अक्षयकोष स्थापनार्थ १ लाख प्रदान गरेको बताइन् ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा मनपा वडा नं ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले विद्यालयलाई सबैको साथ र सहयोगले माथि पुर्याउन निकै सहयोग भएको अनुभूति गरेको भन्दै विद्यालयका अध्यक्ष विक्रम थकालीको दृढताका साथ काम गर्ने कार्यशैलीले देखिएका उपलब्धिहरुप्रति धन्यवाद व्यक्त गरे ।
आफ्नो स्थापनाकालदेखि नै निरन्तर विद्यालयलाई सहयोग प्रदान गर्दै आएको संस्था सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले विद्यालयको प्रगतिप्रति खुसी व्यक्त गर्दै दाता गुरुङ परिवारलाई शुभकामना व्यक्त गर्दै प्रदान गरिएका समाग्रीहरुको समुचित तबरबाट प्रयोगका लागि विद्यालय परिवालाई आह्वान गरे ।
कार्यक्रमका समापनका क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले विद्यालय भौतिक रुपमा विस्तरै सवल बन्दै गइरहेको अवस्थामा गुणस्तरीय शिक्षाका लागी विद्यालय परिवारलाई हरेक अवस्थामा साथ र सहयोग गर्न आफू तत्पर रहेको बताए । विपन्न र अव्यवस्थित वस्तिका २४० जना बालबालिकाहरु अध्ययन गर्ने विद्यालयमा सम्पूर्ण विद्यार्थीहरुलाई मासु, चिउरा र जुससहित खाजा र प्रिन्टर (रू.३८हजार बरावरको) प्रदान गर्ने दाता यूके निवासी सवि गुरुङलाई धन्यवाद ब्यक्त गर्दै जन्मदिनको शुभकामना व्यक्त गरे ।
सोही क्रममा हामीले आफ्नो जन्मदिनलाई मनाउँदा फजुल खर्चको सट्टा दानको रुपमा परिणत गर्दा अभावमा रहेकालाई सहयोग गर्ने सकिने पनि बताउँदै अक्षयकोष प्रदान गर्ने सहयोगी दाता सपना गुरुङलाई धन्यवाद व्यक्त गरे । मन्तव्यकै क्रममा अध्यक्ष थकालीले विद्यालयलाई विभिन्न समयमा विभिन्न तवरबाट सहायता प्रदान गर्ने दाताहरु, कार्यक्रममा उपस्थित सम्पूर्ण संघसंस्थाका पादाधिकारीहरू, शिक्षक, अभिभावक, विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गरे ।