काठमाडौँ । तामाङ मिडिया अवार्ड २०८२ बाट पत्रकारद्वय टिकाराम तामाङ र मालती मोक्तान ‘मालती’ सम्मानित भएका छन् । तामाङ पत्रकार संघले ३१औँ तामाङ प्रसारण दिवसका अवसरमा आइतबार सम्मान गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले दुवै पत्रकारलाई जनही १० हजार १ सय नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् ।
नुवाकोट घर भएका पत्रकार तामाङ इकान्तिपुर डटकममा उपसम्पादकका रूपमा कार्यरत छन् । उनी गोर्खा मिडिया डटकमका सम्पादन सहयोगीसमेत हुन् ।
करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील टिकाराम तामाङसँग विभिन्न एफ.एम., रेडियो, अनलाइन, राष्ट्रिय साप्ताहिक, दैनिक पत्रिकाहरुको कार्यानुभव रहेको छ । तामाङलगायत सीमान्तकृत समुदायको मुद्दालाई उजागर गर्ने कार्यमा पुर्याउँदै आएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई अवार्ड प्रदान गरिएको हो ।
यस्तै, सम्मानित हुने अर्का पत्रकार मालती सामुदायिक रेडियो लालीगुराँस, धनकुटामा कार्यरत छिन् ।
सो अवसरमा बागमती प्रदेशका नवनियुक्त सिँचाइमन्त्री तामाङलाई पनि सम्मान गरिएको थियो । त्यस्तै संघका पूर्वअध्यक्ष प्रतिक ङेसुर तामाङ, कार्यक्रमका लागि सहयोग उपलब्ध गराउने विभिन्न व्यक्तिहरूलाई सञ्चारमन्त्री गुरुङले कदरपत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले अरू क्षेत्रमा भन्दा सरकारी सञ्चारमाध्यममा समावेशी नीति प्रभावकारी देखिएको दाबी गरे । उनले चालु आर्थिक वर्षमै राससले तामाङ भाषामा पनि समाचार सेवा सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिए ।
बागमती प्रदेशका मन्त्री तामाङले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताए ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरीले मातृभाषा पत्रकारिता जोगाउन राज्यले लगानी गर्नुपर्ने बताए ।
तामाङ पत्रकार संघका अध्यक्ष नेत्र तामाङले आफ्नो समुदायका पत्रकारको वृत्ति विकासमा सघाउन पुरस्कारको व्यवस्था गरिएको बताए ।
संघका वरिष्ठ उपाध्यक्ष तीर्थमान बलले रेडियो नेपालमा तामाङ भाषाको कार्यक्रम थप गर्नु व्यवस्थाका लागि सञ्चारमन्त्री गुरुङको ध्यानाकर्षण गराए ।
रेडियो नेपालमा पहिलो पटक तामाङ भाषाको समाचार प्रसारण भएको दिनलाई तामाङ पत्रकारहरूले तामाङ प्रसारण दिवसका रूपमा मनाउँदै आएका छन् । २०५१ भदौ १ गते पहिलो पटक तामाङ भाषाले प्रसारण क्षेत्रमा प्रवेश पाएको थियो ।