पोखरा । हरितालिका तीजको अवसरमा हिमशिखर युवा क्लब धम्पुसले ९ औं हरितालिका तीज मेला तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रम भदौ ९ देखि ११ गतेसम्म धम्पुस ७ सत्लेमा हुने जनाइएको छ ।
‘विकासका लागि युवा’ भन्ने मूल मन्त्रका साथ स्थापित क्लबले स्थापनाकालदेखि नै खेलकुद, पर्यटन, संस्कृति र सामाजिक चेतनामूलक गतिविधिहरू सञ्चालन गर्दै आएको छ । यो वर्षको तीज मेला, अघिल्ला वर्षहरूभन्दा झन् भव्य, व्यवस्थित र समावेशी हुने आयोजक भनाइ छ । आयोजकका अनुसार मेलामा स्थानीय भलिबल खेलाडीहरूको भिडन्तदेखि नाचगान, लोक गीत र झाँकीहरू प्रस्तुत हुनेछन् ।
मेलाको आकर्षणका रुपमा महिला भलिबल, पुरुष भलिबल, रस्सी तान्ने, ठेलो हान्ने, एकल र सामूहिक नृत्यजस्ता प्रतिस्पर्धात्मक कार्यक्रमहरू रहेको क्लबका सचिव अनिल सुनारले जानकारी दिए ।
‘मेलालाई थप आर्कषण गर्नको लागि मञ्चलाई ग्रामीण संस्कृति र सौन्दर्यले सजाइनेछ, जहाँ धम्पुसको लोकसंस्कृति, हस्तकला, कृषि उत्पादन र कला–साहित्यले विशेष स्थान पाउनेछ । यो मेलाले केबल मनोरञ्जन मात्र होइन, समुदायको आर्थिक गतिशिलता र सामाजिक समावेशितामा समेत महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ,’ उनले भने ।
उनले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।