हरि गुरुङ/लन्डन । गोरखा जिल्ला गुरुङ समाज यूकेद्वारा आयोजित तमु (गुरुङ) हरुको महान् पर्व हि ल्हो ल्होछार/ल्होसार कार्यक्रम अल्डरसटस्थित एम्पाएर हलमा १ जनवरी २०२३ आइतबार भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा समाजका महासचिव क्या. शेरबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए भने फान्बोरो, अल्डरसट क्याम्बरलीका संयोजक रेशम गुरुङले सुरक्षा प्रणालीबारे अवगत गराएका थिए । अध्यक्ष गौतम गुरुङबाट दीप प्रज्ज्वलन गरी सबैलाई हि ल्होसारको शुभकामनाको साथमा कार्यक्रमको सुरुवात गरिएको थियो ।
हि ल्हो ल्होछार/ल्होसार कार्यक्रममा बेलायतका विभिन्न संघ संस्थाहरुबाट आमन्त्रित अतिथिहरुमा तमुधिं यूकेका अध्यक्ष श्रीमान्, श्रीमती हरि गुरुङ, तमु समाज यूकेका अध्यक्ष श्रीमान्, श्रीमती शिवकुमार गुरुङ, लमजुङ समाज यूकेका अध्यक्ष श्रीमान्, श्रीमती दलबहादुर गुरुङ, इलम पोखरी समाज यूकेका अध्यक्ष श्रीमान्, श्रीमती परशुराम गुरुङ, गोरखा किचेनका प्रोपाइटर भिम गुरुङको सहभागिता थियो ।
यसैगरी नेपालबाट आमन्त्रित म्युजिक भिडियो तथा चलचित्रकर्मी समूह निर्देशक दीप गुरुङ, नायक तथा मोडल आनन्द गुरुङ, नायिका तथा मोडल लक्ष्मी गुरुङ र तमुधिं यूकेबाट आमन्त्रित कलाकारहरु लोकदोहोरी गायक चिज गुरुङ, सुरेन्द्र गुरुङ र भिमु गुरुङको सहभागिता रहेको थियो ।
ल्होसार कार्यक्रममा गोरखा जिल्ला गुरुङ समाज यूकेका सदस्य तथा छोराछोरीहरुले यूकेका विभिन्न विश्व विद्यालयहरुबाट विभिन्न विषयमा व्याचलर्स डिग्री र मास्टर डिग्री गरेका नानी बाबुहरुलाइ समाजका अध्यक्ष गौतम गुरुङले खादा लगाएर सम्मान गरेका थिए । गत २७ अगष्ट २०२२ मा सम्पन्न युथ च्यारिटी डिनर नाईटको कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष तथा गोरखा खिचनका प्रोपाइटर फडकजीत गुरुङ र भिम गुरुङबाट नि:शुल्क खानाको प्रबन्ध गरिएको थियो । उक्त कार्यक्रमबाट उठेको रकम मध्येबाट २ हजार पाउन्ड फ्रिम्ली पार्क हस्पिटलको आइसीयू विभागलाई प्रदान गर्ने भनिएअनुसार चेक निवर्तमान अध्यक्ष फजित गुरुङ र भीम गुरुङलाई हस्तान्तरण गरियो । उक्त रकम उनीहरुले समय मिलाएर फ्रिम्ली पार्क हस्पिटललाई हस्तान्तरण गर्ने आयोजकले जनाएको छ । बाँकी रहेको ५ हजार २२७ पाउन्ड गोरखा जिल्ला गुरुङ समाज यूकेका युथहरुको निर्णय अनुसार जिल्लाको अत्यावश्यक क्षेत्रमा सहयोग दिने जनाइएको छ ।
बाघ वर्गलाई बिदाई र बिरालो वर्गलाई स्वागत गर्दै मनाउने यस वर्षको हि ल्हो ल्होछार कार्यक्रम समाजको स्थापनाकालदेखिको सबैभन्दा धेरै कलाकारहरु सहभागिता रहेको थियो । स्रोत चरणको सांस्कृतिक कार्यक्रम दिनेश गुरुङले संचालन गरेका थिए । निर्देशक दीप गुरुङ, नायक तथा मोडल आनन्द गुरुङ र मोडल तथा नायिका लक्ष्मी गुरुङलगायत स्थानीय कलाकारहरुले विभिन्न गीतहरुमा उत्कृष्ट नृत्य गरेर भरपुर मनोरञ्जन प्रदान गरेका थिए । साथमा चर्चित दोहोरी गायक चिज गुरुङ, सुरेन्द्र गुरुङ र दोहोरी गायिका भीमु गुरुङले विभिन्न दोहोरी गीतहरुमा उपस्थित दर्शकहरुलाई उफारीउफारी नचाएका थिए ।
कार्यक्रममा समाजका सांस्कृतिक संयोजक सुवास गुरु बाट लोपोन्मुख सोरठी नाचको प्रस्तुति गरेका थिए । सोरठी नाचमा, दिनेश गुरुङ, अनिल गुरुङ, हरि गुरुङ, एलिसा गुरुङ, एलिजा गुरुङ र सांस्कृतिक संयोजक सुवास गुरुङको अति नै उत्कृष्ट सामूहिक प्रस्तुति रहेको थियो । यसैगरी बिमला गुरुङले गुरुङ भाषाको 'ङै नासरी' बोलको गीतमा सुन्दर नृत्य प्रस्तुत गरेकी थिइन् । सुलकसिन गुरुङले 'हे कान्छी' बोलको गीतमा अति नै मीठो नृत्य प्रस्तुति गरेका थिए ।
थप मनोरञ्जनका लागि FCA आमा समूहका अध्यक्ष देउमाया गुरुङको संयोजकमा भाग्यशाली चिठ्ठा उपहार कार्यक्रम राखिएको थियो । जसमा पहिलो पुरस्कार एक तोलाको सुन, दोस्रो पुरस्कार एप्पल वाच र तेस्रो पुरस्कार कानमा लगाउने आधा तोला सुनको चन्द्रमा राखिएको थियो । जसमा तृतीय पुरस्कार अस्मी ज्वेलर्स आसफोर्ड यूकेले प्रायोजन गरेको थियो । कार्यक्रम अवधिभरिको फोटो र भिडियो मनिराज गुरुङ र मिडिया संयोजक सूर्यमान गुरुङले गरेका थिए ।
अन्तमा लोकदोहोरी गायक चिज गुरुङ र भिमु गुरुङले विभिन्न दोहोरी गीतहरुमा सबैलाई नचाएर मनोरञ्जन प्रदान गरेका थिए । निर्धारित समयमै कार्यक्रम सफलतापूर्वक पूरा भएको थियो । कार्यक्रमको अन्तमा समाजक उपाध्यक्ष मीन गुरुङले उपस्थित सम्पूर्ण सदस्यहरुलाई हि ल्होछारको शुभकामना र धन्यवाद दिँदै अर्को वर्ष पनि यसरी नै रमाइलो गर्ने प्रणको साथ कार्यक्रमको समापन गरिएको थियो ।