लन्डन । बेलायतमा 'दोस्रो एनआरएनए कप तथा फेस्टीभल-२०२५' आगामी सेप्टेम्बर १३ तारिखमा हुने भएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको आयोजनामा १३ सेप्टेम्बरका दिन फेल्थामस्थित स्प्रिङवेस्ट एकेडेमा एनआरएनए कप तथा फेस्टिभल हुन लागेको हो । कार्यक्रम बिहान साढे ८ बजेदेखि नै सुरु हुने एनआरएनए अध्यक्ष प्रेम गाहामगरले जानकारि दिए ।
एनआरएनए कपअन्तर्गत नाइन ए साइड फुटबल प्रतियोगितामा मुख्य टिम, भेट्रान र महिला टिमबीच प्रतिस्पर्धा गराइने छ । विजेता टिमलाई कप, नगद, प्रमाणपत्रलगायत आकर्षक पुरस्कार दिइनेछ ।
मुख्य टिमका विजेतालाई २२ सय र उपविजेताले ११ सय पाउन्ड पुरस्कार पाउनेछन् । भेट्रानतर्फ विजेताले १२ सय र उपविजेताले ६ सय पाउन्ड नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । महिलातर्फका विजेता र उपविजेतालाई भने क्रमश: २ सय र १ सय पाउन्ड नगद पुरस्कार प्रदान गरिनेछ ।
टिम दर्ता र स्टल बुकिङ खुलिसकेको आयोजकले जनाएको छ । खेलका लागि टिम दर्ता पुरुषका लागि २ सय र महिला टिमका लागि ५० पाउन्ड शुल्क लाग्नेछ ।
महोत्सव नेपाली कला, संस्कृति, परम्परा, भेषभूषा र खानाको प्रचार-प्रसार एवं संवर्द्धनका लागि गरिँदै आएको छ ।
पहिलो एनआरएनए कप तथा महोत्सव गत वर्ष अगस्ट ३ मा भएको थियो ।