काठमाडौँ । नेपालको मधेश प्रदेशस्थित सुक्खाग्रस्त क्षेत्रमा बेलायतको एक संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा बेलायत सरकारअन्तर्गत सञ्चालित ‘स्टार्ट फन्ड नेपाल’ परियोजनाले राहत र सहयोग कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता जनाएको हो।
पानी नपरेपछि मधेशका जिल्लाका किसानले धान रोपाइँ गर्न पाएका छैनन् । रोपेको ठाउँमा पनि धाँजा फटेको छ । खडेरीबाट प्रभावित पर्सा, बारा, रौतहट, सर्लाही, सिराहा र सप्तरीका १० वटा पालिकामा लागू हुने उक्त कार्यक्रम आगामी ६० दिनसम्म सञ्चालन हुनेछ ।
परियोजनाबाट आठ हजार ३५५ घरका करिब ४४ हजारभन्दा बढी नागरिक लाभान्वित हुनेछन्। कार्यक्रमका लागि कुल २ करोड ६० लाख ३३ हजार ४७६ रुपैयाँ बजेट विनियोजन गरिएको छ।
कार्यक्रमलाई तीन चरणमा कार्यान्वयन गरिनेछ। पहिलो चरणमा खडेरीग्रस्त क्षेत्रमा आपत्कालीन रूपमा पानी वितरण, दोस्रो चरणमा गहिरो बोरहोल खन्ने सम्भाव्यता अध्ययन, सिँचाइ प्रणालीको सुधार तथा दिगो पानी प्रणाली निर्माणमा जोड दिइनेछ।
तेस्रो चरणमा जीविकोपार्जन पुनर्स्थापनालाई प्राथमिकता दिइने र यसअन्तर्गत ‘क्यास फर वर्क’ कार्यक्रम, सिँचाइ मर्मत तथा वैकल्पिक बाली प्रवर्द्धनमा प्राविधिक सहयोग प्रदान गर्ने परियोजनाको लक्ष्य छ ।