काठमाडौँ । नेपाल–बेलायत संसदीय मैत्री समूहबीच नीति निर्माण अनुभव आदानप्रदान, लगानी प्रवर्द्धन र संसदीय कूटनीति सुदृढीकरणबारे छलफल भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको सो समूहको बैठकले वेस्ट मिनिस्टर फाउन्डेसन फर डेमोक्रेसी (डब्लुएफडी) र नेपाल बेलायत चेम्बर अफ कमर्सका पदाधिकारीसँग छलफल गर्दै सहकार्यको खाका तयार पारेको हो । नीति निर्माणमा अनुभव आदानप्रदान तथा दुई देशका विविध क्षेत्रमा लगानी प्रवर्द्धनका लागि संसदीय कूटनीति प्रयोग गर्ने निष्कर्ष निकालिएको छ ।
वेस्ट मिनिस्टर फाउन्डेसनसँग नेपाल र बेलायतको संसदीय अभ्यास, नीति निर्माणको प्रक्रियाबारे अनुभव आदानप्रदानमा सहकार्य गर्ने समझदारी बनेको समूहका संयोजक एवं सांसद विराजभक्त श्रेष्ठले जानकारी दिए ।
यसैगरी नेपाल बेलायत चेम्बर अफ कमर्ससँग दुई देशबीच सम्भावनाका क्षेत्र, लगानी प्रवर्द्धनबारे सहकार्य र मैत्री समूहले संसदीय कूटनीति प्रयोग गर्ने समझदारी बनेको संयोजक श्रेष्ठले बताउनुभयो । दुवै संस्थासँग सहकार्यको खाका बनाएर अगाडि बढ्ने उनको भनाइ छ ।
मैत्री समूहले नेपाल बेलायत सम्बन्धको संसदीय आयाम, विविध सम्बन्धबारे परराष्ट्र मन्त्रालयसँग छलफल गर्ने निर्णय पनि गरेको छ । बैठकमा वेस्ट मिनिस्टर फाउन्डेसनका निर्देशक दिनेश वाग्लेले नेपालमा हालसम्म गरेको काम, साझेदारीका ढाँचा तथा भविष्यका योजना बारे प्रस्तुति गरेका थिए ।
नेपाल–बेलायत चेम्बर अफ कमर्सका प्रमुख राजेन्द्र खेतानले बैठकमा नेपालको लगानी सम्भाव्यता, बेलायती लगानीकर्ताका लागि आकर्षक क्षेत्र, दुवै देशबीचको आर्थिक साझेदारीमा रहेका अवसर र चुनौतीहरूबारे धारणा राखे । समूहले नेपाल–बेलायत सम्बन्धलाई अझ सुदृढ बनाउने र संसदीय कूटनीति तथा आर्थिक सहकार्यलाई बलियो बनाउने जनाएको छ ।