काठमाडौँ । भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा निर्माण गरेको साढे ९ करोड लागतको भवन हस्तान्तरण गरेका छन् ।
आफ्ना आमाबुबा वृषबहादुर गुरुङ र धनमाया गुरुङको सम्झनामा निर्मित उक्त भवन सोमबार हस्तान्तरण गरेका हुन् । अस्पतालको ४३औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भाटभटेनी सुपरस्टोरको सहयोगमा निर्माण भएको उक्त भवन उद्घाटन गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ र सावित्री गुरुङले उक्त अस्पताल भवन भवन निर्माण गरेर उदाहरणीय काम गरेको भन्दै धन्यवाद व्यक्त गरे ।
‘दानवीर भनेर चिनिएका मीनबहादुरजी, सावित्री गुरुङजीले नेपाली जनताको हितका लागि फेरि अर्को एउटा महत्त्वपूर्ण दान गर्नुभएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सम्पूर्ण नेपाली जनताले स्वास्थ्योपचार प्राप्त गरुन् भनेर गर्नुभएको उहाँहरूको यो निकै राम्रो कामको प्रशंसा गर्छु ।’
भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले बिनास्वार्थ देश, जनता र राष्ट्रको सेवामा लाग्ने बताए ।
‘भाटभटेनीका तर्फबाट अग्रपंक्तिमा रहेर सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा आत्मसाथ गर्दै देश, जनता र राष्ट्रको सेवा बिनास्वार्थ स्वच्छ मनले गर्ने छौँ,’ गुरुङले भने, ‘यो भवन निर्माण गरेर हस्तान्तरण गर्न पाउँदा धेरै खुसी छौँ ।’
यसअघि २०६८ सालमा पनि गुरुङले १० करोड रुपैयाँ लागतमा सोही अस्पतालको आकस्मिक कक्षको भवन बनाइदिएका थिए ।
‘२०६८ सालमा अस्पताललाई आकस्मिक कक्ष राख्ने भवन आवश्यक हुँदा १० करोड लागतमा बनाइदिएका थियौं,’ उनले भने, ‘अहिले फेरि अस्पताललाई थप सेवा दिन भवन चाहिएको रहेछ, पुनः नयाँ भवन निर्माण गरेर आज हस्तान्तरण गरेका हौँ ।’
भाटभटेनीले यस खालको सामाजिक सेवाका काममा सक्रिय हिसाबले सहयोग गर्दै आएको छ ।