काठमाडौँ । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को ३५औँ स्थापना दिवस काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ। शनिबार एक विशेष कार्यक्रमबीच गेसोले स्थापना दिवस मनाएको हो।
संस्थाका उपसभापति जीवबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा कानुनविद् डा. गोपाल सिवाकोटी ‘चिन्तन’ प्रमुख अतिथि रहेका थिए। डा. सिवाकोटीले गोर्खा आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, बेलायतमा गोर्खा सैनिकले भोगेका चुनौती तथा बेलायती सरकारले दिनुपर्ने न्यायबारे प्रस्ट पारे । उनले अझ सशक्त आवाज उठाउन आह्वान गर्दै गेसोको योगदानलाई सम्मानपूर्वक स्मरण गरेका थिए ।
बेलायती अदालतमा मुद्दा दर्ता गर्न आवश्यक कागजात मे. टिकेन्द्र दल देवाल जेपीले उपलब्ध गराएर गोर्खाहरूलाई ठूलो गुन लगाएको पनि डा. सिवाकोटीले स्मरण गरे । संस्थाका सभापति कृष्णकुमार राईले बेलायतबाट पठाएको स्थापना दिवसको शुभकामना सन्देश जीतकुमार राईले वाचन गरेर सुनाएका थिए। अध्यक्षले सन्देशमार्फत बेलायतमा गोर्खा वार्ताका लागि रहनुपर्ने भएकाले कार्यक्रममा सहभागी हुन नसकेको जनाएका थिए। जीतबहादुर राईले संस्थाको गतिविधि, नेपाल र बेलायतबीचको वार्ता र भावी कार्य योजनाबारे पनि प्रस्ट पारेका थिए ।
कार्यक्रमका अध्यक्ष एवं संस्थाका उपसभापति राईले गोर्खा आन्दोलनका सहयात्रीको योगदानको चर्चा गर्दै बेलायतस्थित गोर्खा समुदायलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । काठमाडौँ र ललितपुरका सभापतिद्वय क्रमशः सुनिता गुरुङ र इन्द्रकुमारी राईले पनि मन्तव्य राखेका थिए।
कार्यक्रममा ललितपुर र काठमाडौँ जिल्ला समितिका प्रतिनिधि, महिला समिति तथा युवा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले गेसोको स्थापना दिवसलाई गोरखा समुदायको हक, अधिकार र न्याय प्राप्तिको प्रतीकका रूपमा लिनुपर्नेमा जोड दिएका थिए।
गोर्खा आन्दोलनको उपलब्धिहरूलाई गेसोको सम्पत्तिका रूपमा ग्रहण गर्ने र भावी कार्यक्रमहरूलाई अहिले गठन भएको गोर्खा समिति जी १० मार्फत छलफल गरी अघि बढ्ने प्रतिबद्धता जाहेर गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।
संस्थाका उपमहासचिव बुद्धिमान राईले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष सहरमान तामाङले खानपानको व्यवस्था गरेका थिए ।
-1752375034.jpg)