काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी दिवङ्गत श्रीमती सीता दाहालको दोस्रो स्मृति दिवसका दिन मानव सेवा आश्रम काठमाडौँको रानीवन सेवा केन्द्रमा पुगेर जीवनसाथी दाहाललाई स्मरण गरेका छन् ।
पत्नी सीताको स्मृतिलाई दिगो राख्न र सबैलाई यस्तो कार्यले प्रेरणा मिलोस् भन्ने उद्देश्यले आश्रममा आश्रितका साथमा यस दिनलाई समर्पण गरेको उनले बताए । स्मृति दिवसको दिन आश्रममा आश्रित २५० सहयोगापेक्षी सडक आश्रित मानवका लागि खाद्यान्न सामग्री र १ लाख रुपैयाँ नगद योगदान गरे ।
अध्यक्ष दाहालले आफू प्रधानमन्त्री छँदा हेटौँडास्थित मानव सेवा आश्रमको मुख्यालय उद्घाटन गरेको सन्दर्भ स्मरण गरे । सरकारले गर्नुपर्ने काम मानव सेवा आश्रमले गरिरहेको उनले बताए । मानव सेवा आश्रमको मानवता प्रवर्द्धनका कार्यले अन्तर्राष्ट्रिय जगतमा समेत चर्चा चुलिँदै उनको भनाइ छ ।
कार्यक्रममा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मानव सेवा आश्रमको विगत वर्तमान र आगामी योजनाबारे अध्यक्ष दाहाललाई जानकारी गराए ।
मानव सेवा आश्रमले खुला सडकपेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिक रूपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको गराउँदै आएको छ ।