फोक्स्टन, केन्ट | फोक्स्टन नेपाली कम्युनिटी सेन्टरमा बहुसांस्कृतिक महोत्सव भव्य रूपमा सम्पन्न भएको छ ।
फोक्स्टन नेपाली समुदायद्वारा आयोजित र इक्वेटर फेस्टिभलको सहकार्यमा सम्पन्न यो कार्यक्रममा विभिन्न देश र समुदायबीचको एकता र सौहार्दपूर्ण वातावरण देखिएको थियो । महोत्सवको उद्घाटन दिउँसो १२ बजे अफ्रिकी ढोलक संगीतबाट सुरु गरिएको थियो ।
त्यसपछि फोक्स्टन नेपाली समुदायका अध्यक्ष क्याप्टेन रामबहादुर पुनमगरले स्वागत मन्तव्य राख्दै सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा पञ्जाबी नृत्य, युक्रेनी कोइर गीत, ब्राजिलियन र इक्वेडोरियन नृत्य, बलिउड नृत्य जस्ता विविध प्रस्तुति देख्न पाइयो । नेपाली सांस्कृतिक कार्यक्रमले विशेष आकर्षणको रूपमा स्थान पायो । किरात राई यायोक्खा फोक्स्टनद्वारा साकेला शिली नृत्य, किरात याक्थुङ चुम्लुङद्वारा केलाङ, मगर समुदायद्वारा कौडा, खामभाषी मगर समाज युकेद्वारा भूमे र पुन मगर समाज युकेद्वारा पुर्ख्यौली नृत्य प्रस्तुत गरिएका थिए ।
दर्शकहरूले सांगीतिक प्रस्तुति, स्वादिलो अन्तर्राष्ट्रिय खाना, आकर्षक नृत्य, फेस पेन्टिङ र बालबालिकाका लागि खेल–तमासाजस्ता विविध गतिविधिबाट भरपूर मनोरञ्जन लिएका थिए। कार्यक्रममा सबै उमेर, जाति, धर्म र पृष्ठभूमिका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमको विशेष आकर्षणमध्ये एक, मगर जातीय सम्पदा टेन्टको उद्घाटन पनि गरिएको थियो ।
वर्षाको कारण केही असहजता भए तापनि सहभागीहरूको उत्साहले वातावरण झनै जीवन्त बनाएको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, सांस्कृतिक समूह, स्वयंसेवक, संयोजक र सहकार्य संस्थाहरूलाई धन्यवाद दिंदै अध्यक्ष क्याप्टेन पुनले भने, “आजको दिन हाम्रो विविध सांस्कृतिक पहिचानको उत्सव हो । यस्ता कार्यक्रमले समुदायलाई अझ नजिक ल्याउँछ, सहिष्णुता बढाउँछ र हाम्रा संस्कृतिहरूको आदानप्रदानलाई बल दिन्छ ।”