नेपाल गएको हरेक पटकझैँ, यस पटक पनि ६–७ वटा किताब किनेर फर्किएँ । पुस्तक पसलका सेल्समेनसँग अब त राम्रै चिनजान भइसक्यो । गफ गर्दै रमाइलो गर्छु । प्रमाण पनि राखिदिएको छु ।
पसलेले भने, ‘अहिले ‘बुध्द एयर– बाई द बुक’ बजारकै हट केक हो । पढ्नु भएको छ ?’
‘छैन,’ भनेँ।
‘किन्नुस् नि।’
किनेँ। आजै पूरा पढेँ। (४ जुलाई)
साँच्चि नै भन्ने हो भने, यो किताब पढ्दा सकारात्मक ऊर्जा सञ्चार हुन्छ ।
पुस्तकको सार:
‘बुध्द एयर– बाई द बुक’ बुध्द एयरका सीईओ बीरेन्द्र बहादुर बस्नेत स्वयंले लेख्नुभएको अनुभव हो । किताबमा उहाँले आफ्ना संघर्ष, सफलता र पारिवारिक उथलपुथल नलुकाई खुलेर लेख्नुभएको छ ।
किताब तीन खण्डमा विभाजन गरिएको छ । जसमा ३४ वटा शीर्षक समेटिएका छन् । धेरैजसो अध्याय पाठकलाई मन छुने खालका छन् । सुरुका पानाहरू अत्यन्तै ऊर्जाशील लाग्छन् तर पुस्तकको अन्ततिर चाहिँ अलिकति रसको कमी भएको जस्तो भान पर्न सक्छ ।
तर पनि किताबले समग्रमा प्रेरणा र यथार्थ दुवै दिन्छ ।
किताबमा के पाएँ?
व्यावसायिक दृढता र पारदर्शिता
पारिवारिक सम्बन्धका असल खराब पाटोहरू
नेपाली समाजमा सफलताको सहज यात्रा नहुने यथार्थ
उहाँले खुलासा गर्नुभएका केही प्रसंग:
‘बुबाको तेह्रदिने काम सकिनेबित्तिकै बुध्द एयरमा कुनै हिसाबको संलग्नता नभएको भाई शिवेन्द्रले कम्पनी चल्न दिन्नँ भनेर हिँड्न थाल्यो।’
‘विवाहित शिवेन्द्रको लसपस अर्की महिलासँग भएको गाइँगुइँ चल्न थालेपछि बुबालाई असहय भयो।’
‘त्यसपछि शिवेन्द्र आफ्नो १४ प्रतिशत सेयर ७० लाख रुपैयाँमा बेचेर बुध्द एयरबाट बाहिरियो।’
‘बैना पठाइसकेको थाहा पाएपछि उहाँले जेल गए बीरेन्द्र जान्छ, म मरिगए जहाज थप्न दिन्नँ भन्नुभयो।’
बीरेन्द्र बस्नेतले व्यक्तिगत तिता मीठा अनुभव लुकाउनुभएन। साहसपूर्वक पस्किनुभयो । यिनै कुराले गर्दा किताब झनै जीवन्त र पठनीय बनेको छ ।
-1751648038.jpg)
एक रमाइलो कुरा:
‘बुध्द एयर’ को नाममै हिज्जे गल्ती छ। शुद्ध नेपालीमा त ‘बुद्ध’ हुन्छ, तर कम्पनीको दर्ता ‘बुध्द एयर’ भइदियो । यस भित्रको रमाइलो कारण थाहा पाउन चाहनुहुन्छ भने किताब पढ्नै पर्ने हुन्छ ।
किन पढ्ने?
व्यवसाय गर्न चाहने र गरिरहेकाका लागि एकदमै उपयोगी ।
नेपाली परिवेशमा सफलता कसरी बन्छ भन्ने बुझ्न ।
नेपालमा सम्भावना छैन भन्नेहरूलाई यथार्थ देखाउन ।
बुध्द एयर अहिले नेपालकै सबैभन्दा भरपर्दो एयरलाइन्समध्ये एक हो । बेलायती अभिनेत्री जोआना लम्लीको टिम नेपाल आउँदा बुध्द एयरकै चार्टर सेवा लिएर यात्रा गरेको उदाहरण पनि किताबमा उल्लेख छ ।
अन्त्यमा:
बीरेन्द्र बस्नेतज्यूलाई एक प्रवासी पाठकको हैसियतले धन्यवाद दिन चाहन्छु ।
उहाँले व्यवसाय मात्र होइन, पारिवारिक सम्बन्धका सबै तह खोलिदिनुभयो ।
साँच्चिकै उदार र इमानदार व्यक्तित्व।
यो किताब व्यावसायिक सफलता मात्र होइन, जीवनका अप्ठ्यारा घामछायाँ पार गरिरहेका सबैका लागि एक प्रेरणादायी सन्देश हो ।