लन्डन । पुन मगर समाज यूकेको आयोजनामा द फेयर वे, फार्नबोरोमा ११औं वार्षिक भेटघाट तथा संस्कृति पर्व भूमे पूजा-२०२५ भव्यताका साथ सम्पन्न भएको छ ।
विदेशमै रहे पनि मातृभूमि र पुर्खाहरूको संस्कृतिलाई जगेर्ना गर्ने भन्दै शनिबार २८ जूनमा विधिपूर्वक भूमे पूजा मनाइएको हो । आगामी पुस्तामा आफ्नै मौलिकता हस्तान्तरण गर्ने उद्देश्यले भूमेपूजा मनाइएको पुन मगर समाज यूकेका सचिव तुलचन्द्र तिलिजाले बताए ।
कार्यक्रमको अध्यक्षतामा पुन मगर समाजका अध्यक्ष बलबहादुर पुर्जा मगर थिए । प्रमुख अतिथिका रूपमा मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन, नेपाली राजदूतावास लन्डनका तृतिय सचिव झुपलाल पुन, मगर संघ यूकेका संरक्षक घन थापा र श्रीमती कृष्णा थापा साथै पूर्वअध्यक्षहरू मेजर कुलबहादुर थापा, दुत पुन, नेम थापा, सुनिल राना, सीता पुन मगर तथा तमुधीं यूकेका उपाध्यक्ष कमल गुरुङ, खाम भाषी अध्यक्ष लिला पुन, बागलुङ समाज यूकेका अध्यक्ष खड्ग थापा, पूर्वअध्यक्ष छविमाया पुन, मगर संघ यूकेका ट्रस्टी र पूर्व ट्रस्टीहरू, मेजर शान्ता पुन, मेजर राम पुन, नर बहादुर पुन (पूर्वसांसद नेपाल) लगायत विभिन्न संघ संस्था तथा समाजका अध्यक्ष र प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको शुभारम्भ धौलागिरि नौमती बाजा र पुर्ख्यौली नाचबाट भएको थियो । जसले प्रमुख अतिथि तथा अतिथिहरूको स्वागत गर्यो । भूमे पूजा मुख्य थानदेखि जंगलको थानसम्म विधिपूर्वक सम्पन्न गरियो । यसले मातृभूमिमा रहेको जस्तो अनुभूति प्रदान गर्दै सबैले विधिपूर्वक पूजा अर्चना गरेका थिए ।
भूमेपूजाले कुलपितृहरूको स्मरण गर्दै घरमा भित्र्याउने, भूमिलाई सुकुम्बासी बनाउने र रोगव्याधी नलागोस्, अन्नबाली राम्रो होस्, दैवी प्रकोप टारोस् तथा गृहलक्ष्मीको वास होस् भनी प्रार्थना गर्ने परम्परा हो । पूजा थानमा रातो शक्तिको प्रतीक झन्डा र सेतो शुभताको प्रतीक झन्डा राखेर जंगलको थानमा बलि चढाउने परम्परा छ। बेलायतमा खर्बुजा बलि चढाउने अनौठो तरिकाले यो पूजा सम्पन्न गरिएको थियो । यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न ऐतिहासिक रूपमा सम्पन्न गरिएको पनि संस्थाका अध्यक्ष बल पुर्जा मगरले बताए ।
कार्यक्रमको प्रमुख अतिथिको शुभकामना मन्तव्यपश्चात् अध्यक्ष बलबहादुर पुर्जाले आमन्त्रित पाहुनाहरूप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई कृतज्ञता व्यक्त गरे ।

कार्यक्रम संचालन संस्थाका सचिव तुलचन्द्र तिलिजाले गरे । नयाँ सदस्यहरूलाई स्वागत गर्दै प्रमाणपत्रसहित सम्मान गरियो भने विभिन्न क्षेत्रमा प्रगति हासिल गरेका तथा पदोन्नति भएका सदस्यहरूलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा आरुसी पुन, रोज अधिकारी, जेनी चोचाङ्गे, अस्मिका, श्रीमती हेमा, टीका देवी, स्मिता पुन, जस्लिन पुन, देजी पाइजा, अन्जना, गीता, सोनिया पुन र मिलन थापाद्वारा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको अन्त्यसम्म नेपालबाट आएका प्रख्यात कलाकार प्रेम विवश घर्ती, अनुपा रोका, रमिला बुढा मगर र गगन पुनले मनोरन्जनमय बनाएका थिए ।







