लन्डन । बेलायतमा पहिलोपटक 'लन्डन इन्द्रजात्रा' हुने भएको छ । पासा पुच गुथि यूकेले लन्डन फेल्थामस्थित स्प्रीङवेष्ट एकेडेमी प्राङ्गणमा आउँदो १६ अगस्ट २०२५ मा लन्डन इन्द्रजात्रा गर्न लागेको हो । नेपालको संस्कृतिबाट सिकेर लन्डनमा आफ्नै शैलीको फयूजनसहित जात्रा गरिने आयोजक पासा पुच गुथि यूकेले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत जनायो ।
इन्द्रजात्रा मध्याह्न १२ देखि साँझ ७ बजेसम्म हुने छ । काठमाडौंमा ८ दिनसम्म मनाइने इन्द्र जात्रा पृथक् र रमाइलो मानिन्छ । पासा पुच गुथि लन्डन च्याप्टर र ओजेश सिंहले जात्राको संयोजन गरेका छन् । जात्रा व्यापक बनाउन गुथिका सबै ६ वटा यूके च्याप्टरको पनि आआफ्नो तर्फबाट योगदान हुनेछ ।
पत्रकार सम्मेलनमा पासा पुचः गुथि यूके बोर्ड अफ ट्रष्टी अध्यक्ष सुशील प्रजापतिले बेलायतमै मौलिक जात्राको रुपमा विकास गर्ने उद्देश्यसहित जात्रा गर्न लागिएको जनाए । उनले सन् २००० मा गुथि स्थापना भएपछि यूकेमा म्ह पूजा, गुथि भ्वय, गुथि पूजा, वृहत नेवा मुना, योमरी पुन्ही, गुथि सेमिनार, लन्डन खः जात्रा, लन्डन बिस्का जात्रा लगायत विभिन्न सांस्कृतिक गतिविधि भइरहंदा पहिलो पटक लन्डन इन्द्र जात्रा थपिएको जनाए ।
इन्द्र जात्रामा कुमारी, भैरव र गणेशको रथ तानिने एवं ति तीन रथहरुमा जिवित देवी कुमारी र देवताहरु गणेश र भैरवलाई पनि विधिपूर्वक प्रतिस्थापन गरि परिक्रमा गरिने आयोजकको तयारी छ । सो अवसरमा धिमे, ढा, खिं, बांसुरी लगायत कयौं बाजा पनि प्रस्तुत गरिनेछ । गुथिका विभिन्न च्याप्टरमा विगत ९ महिनादेखि धिमे बाजा प्रशिक्षण भइरहेको छ ।
कयौं लाखे नाच, कुमारी नाच, मन्जुश्री नाच, भैरवगण नाच, हुलां प्याखः, धिमे प्याखः आदि प्रस्तुत गरिने आयोजकले जनाएका छन् । सो अवसरमा व्यापारिक र खानाका करिब दुई दर्जन स्टल, फेस पेन्टिंग, च्यारिटीका स्टल आदि पनि रहने आयोजकले जनाए । जात्रामा करिब ४ हजार दर्शक सहभागी हुने अपेक्षा छ ।
उनले डे आउटका रुपमा लिएर नेवा समुदायमात्र नभई बेलायतस्थित गैरनेवारहरुलाई पनि सहभागी भइदिन अपिल गरे ।