लन्डन । स्याङ्जा समाज यूकेको समर भेटघाट तथा बीबीक्यू भव्य रूपमा सम्पन्न भएको छ ।
फार्नबरोस्थित ग्रेन्ज स्कुलको प्रांगणमा ८ जुनका दिन चर्चित कलाकारका साथमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसहित भेटघाट सम्पन्न भएको हो ।
संस्थाका महासचिव रामराज शर्माले औपचारिक र जुनु विश्वकर्माले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए । औपचारिक कार्यक्रममा संस्थापक अध्यक्ष सारदा गुरुङलगायत विभिन्न व्यक्तिले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक भक्त दर्जीका अनुसार ख्यातिप्राप्त लोकदोहोरी गायिका सबिना गुरुङ, गायक विमल परियार र मोडल तथा नृत्यकार रिना थापाको प्रस्तुतिमा उपस्थित सबै जनाले मनोरञ्जन लिएका थिए ।

प्रमुख अतिथि ले. कर्णेल रिटायर्ड टोल खाम्चा र विशिष्ट अतिथि एवं संस्थाको स्थापनादेखि नेपालमा रहेर पनि बेलायतसँग दोहोरो भूमिका निर्वाह गर्ने मेजर रिटायर्ड लक्ष्मीप्रसाद गुरुङलाई संस्थाप्रति दिएको समय र योगदानको कदर स्वरूप खादा, फेटा तथा प्रमाणपत्रले अभिनन्दन गरिएको थियो ।
अन्य विभिन्न संघसंस्थामा अध्यक्ष पद सम्हालेका संस्थाका सदस्यहरू, एनआरएनए यूकेका प्रमुख संरक्षक स्याङ्जा समाज यूकेको प्रमुख सल्लाहकार डेभिड गुरुङ, गैरआवासीय नेपाली संघका आईसीसी संरक्षक थर्क सेनलगायत अन्य विशिष्ट व्यक्तीहरूलाई फेटा तथा श्रीमतीहरूलाई दोसल्ला र फूलको गुच्छासहित अध्यक्ष भरत गुरुङ र प्रमुख अतिथि खाम्चाले सम्मान गरेका थिए । सो अवसरमा नयाँ सदस्यहरूलाई पनि स्वागत गरिएको थियो ।

अन्त्यमा अध्यक्ष गुरुङले उपस्थित अतिथि तथा सहभागी र कार्यक्रम सफल पार्न खटिने संयोजकसहित सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रमको अन्त्यसम्म कलाकारको साथमा मौलिक झ्याउरे गीतमा छुट्टी नै गाह्रो हुने गरी सबै जनाले भरपुर मनोरञ्जन गरेका थिए ।
यसैबीच अध्यक्ष गुरुङले ९ जुनका दिन धन्यवाद पत्रमार्फत कार्यक्रम सफल सहयोग पुर्याउने पदाधिकारी, आमा समूह तथा सदस्यसहित उपस्थित सबैलाई धन्यवाद दिएका छन् । उनले आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राखेका छन् ।