लन्डन । वरिष्ठ गायक, संगीतकार तथा साहित्यकार गणेश रसिक राईको पार्थिव शरीरलाई मंगलबार दाहसंस्कार गरिएको छ ।
बेलायतमा बसोबास रहेकी उनी छोरी नेपाल पुगेपछि रसिकको मंगलबार बिहान काठमाडौंको पशुपतिमा रहेको विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको हो । त्यसअघि सोही ठाउँमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो । संगीतकार संघका अध्यक्ष अष्ट लामाले रसिकको शवमा संस्थाको झन्डा ओढाएर सम्मान व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सामाजिक अभियन्ता अनुराधा कोइराला, सांसद हेमराज राई, संगीतकारहरू शम्भुजीत बासकोटा, बुलु मुकारुङ, लक्ष्मण शेष, महेश खड्का लगायतले रसिकको शवमा माल्यार्पण गर्दै श्रद्धासुमन व्यक्त गरे । सो अवसरमा रसिकको चर्चित गीत ‘यो नेपाली ठिटो’मा कलाकारले प्रस्तुति दिए ।
रसिकको इच्छाअनुसार नै उनको शवलाई पशुपतिको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको हो । रसिकले परिवार र आफन्तलाई निधनपछि तामझामसहित आफ्नो शवलाई प्रज्ञा प्रतिष्ठान र संगीत तथा नाट्य प्रतिष्ठानमा नराख्न भनेका थिए । साथै, जन्मथलो भोजपुरको छिनामखुमा अस्तु लैजानु भनेर आग्रह गरेका थिए । ‘
रसिकको ७८ वर्षको उमेरमा आइतबार ललितपुर हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको थियो । उनी ५ वर्षदेखि प्रोस्टेट क्यान्सरले पीडित थिए ।
भोजपुर, छिनामखुमा २००४ सालमा जन्मेका रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए । उनी रत्न रेकर्डिङदेखि राष्ट्रिय नाचघरसम्मको महाप्रबन्धक भएका थिए । उनका ‘ओ याङ्जी नाना,’ ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’, ‘ओ शून्यता’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘नखेल्नु जुवा र तास’, ‘रातो भाले क्वाँया क्वाँया’ हरू कालजयी गीत हुन् ।
‘क्षितिजलाई छुन खोज्दा (कथासंग्रह), ‘रसिकका गीतहरू’ (गीतसंग्रह), ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास), ‘दशगजामा उभिएर’, ‘जब सिस्नुहरू टेक्दै हिँडे’, पाँच पुस्तकको ‘पेरुङ्गो’ (संस्मरण) लगायत रसिकका प्रकाशित किताब हुन् ।