काठमाडौँ । नेपाल भ्रमणमा रहेका न्युजिल्यान्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सले बुधबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
राष्ट्रपति पौडेलसँग शीतल निवासमा र प्रधानमन्त्री ओलीसँग उनको निवास बालुवाटारमा भएको भेटमा दुईपक्षीय हित, आपसी सम्बन्ध र सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।
सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल सन् २०३० सम्ममा मध्यम आए भएको मुलुक बन्नेतर्फ अग्रसर भएकाले यो लक्ष्य हासिल गर्न व्यापार, लगानी र विकास सहकार्यका लागि आग्रह गरेका थिए ।
नेपाल र न्युजिल्यान्ड विभिन्न अन्तर्राष्ट्रिय विषयहरूमा साझा धारणासहित बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्दै आएको स्मरण गर्दै उनले स्तरोन्नतितर्फको हाम्रो यात्रालाई दिगो बनाउन व्यापार, लगानी र विकास सहकार्यका सन्दर्भमा न्युजिल्यान्डबाट सहयोगको अपेक्षासमेत गरे ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाका साथ स्थिरता, विकास, सुशासन, सामाजिक न्याय र सामाजिक रुपान्तरणलाई प्राथमिकता दिएको अवगत गराएका थिए ।
उपप्रधानमन्त्री पिटर्सले नेपालको विकास र समृद्धिका लागि भएका प्रयासको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय मञ्चमा साना मुलुकहरुको साझा हितका विषयमा सहकार्य गर्न जोड दिए।
उनले संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा नेपालले पुर्याएको योगदानको प्रशंसासमेत गरेका थिए । यस्तै उपप्रधानमन्त्री पिटर्सले बुधबार नै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि भेटवार्ता गरेका थिए ।
सन् १९५३ मे २९ मा विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपालका तेन्जिङ नोर्गे र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले सफल आरोहण गरेकाले पनि दुई देशबीचको सम्बन्ध नजिक भएको छ ।