काठमाडौं । तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को पाँचौं राष्ट्रिय महाधिवेशन शनिबारदेखि काठमाडौंमा हुने भएको छ ।
महाधिवेशनको उद्घाटन भोलि दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्ने कार्यक्रम रहेको परिषद्ले जनाएको छ । महाधिवेशन जेठ १२ गतेसम्म चल्ने छ । 'गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिताप्रति हाम्रो साझा प्रतिबद्धता, तमू ह्युलको पहिचान मौलिक थातथलो नामको पुन:स्थापना र अमौखिक सांस्कृतिक सम्पदाको संरक्षणको लागि पाँचौ राष्ट्रिय महाधिवेशन' मूल नाराका साथ आयोजना हुने यस महाधिवेशनमा देशभरका करिब ७५० प्रतिनिधि सहभागी हुने परिषद्ले जनाएको छ ।
परिषद्को सभाहलमा पत्रकार सम्मेलन आयोजना गर्दै महाधिवेशनले तमू जातिको भाषा, धर्म, संस्कृति, परम्परा, मौलिक स्थान नामहरूको पुनर्स्थापना, अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र लिपिबद्धीकरण तथा तमूवानको पहिचानका मुद्दाहरूलाई जोडदार रूपमा उठाउने बताएको छ । साथै, संविधानका मूलभूत विशेषताहरू जस्तै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिताको रक्षाका लागि प्रतिबद्धता जाहेर गर्दै महाधिवेशनको बन्दसत्र जेठ ११ र १२ गते गोंगबुस्थित बिजी व्याङ्क्वेको हलमा हुने बताएको छ ।
परिषद्ले वि.सं. २०६५ मा स्थापना भएयता विभिन्न चरणमा देशका विभिन्न ठाउँहरुमा राष्ट्रिय महाधिवेशनहरू सम्पन्न गर्दै आएको छ ।