काठमाडौँ । नेपालमा नेपालमा पहिलो पटक सगरमाथा आरोहीहरूको सम्मानमा एभरेस्ट समिटर्स समिट २०२५ आयोजना हुने भएको छ ।
एभरेस्ट एलायन्स नेपालको आयोजनामा बेलायतसहित डेढ दर्जन देशका पर्वतारोहीको सहभागितामा यही २७ मेका दिन समिट हुने भएको हो । ‘लिजेन्डहरूको सम्मान, भविष्यको प्रेरणा’ नाराका साथ हुन लागेको सम्मेलनमा हालसम्म १६ देशका १७७ भन्दा बढी अनुभवी पर्वतारोहीको सहभागिता सुनिश्चित भइसकेको एलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले जानकारी दिए ।
बेलायत, नेपाल, भारत, चीन, अमेरिका, पाकिस्तान, अस्ट्रिया, बेलायत, इटाली, नर्वे, इरान, सिंगापुर, अस्ट्रेलिया, लेबनान, मोरक्को, यूएईलगायतका देशका पर्वतारोही सम्मेलनमा सहभागी हुनेछन् ।
एभरेस्ट समिटर्स समिट २०२५ को मुख्य विशेषता विश्वभरका सगरमाथा आरोहण सम्पन्न गरेका आरोहीहरूलाई एउटै मञ्चमा भेला गराई प्रेरणादायी यात्राका कथाहरू, सफलताको अनुभूति, संघर्षका क्षण र सिकाइका पाटा प्रस्तुत गर्ने रहेको छ ।
सम्मेलनले पर्वतारोहण विज्ञ, नीति निर्माता, संरक्षणविद्, पर्यटन सरोकारवाला, हिमाली क्षेत्रका स्थानीय लगायत पर्यटन व्यवसायी, शेर्पा, ट्रेकरहरू, तथा पर्वतीय संस्कृति प्रतिनिधित्व गर्ने समुदायलाई एउटै मञ्चमा ल्याउने लक्ष्य रहेको छ ।
हिमाली सांस्कृतिक महोत्सव, चित्रकला तथा पर्वतीय जीवनशैली झल्काउने झांकी, फोटो प्रदर्शनी र उपकरणको प्रदर्शनीसमेत हुनेछ । साथै स्थानीय हस्तकला र हिमाली परम्परागत सामग्रीहरू समावेश गर्न नाम्चे, खुम्बु, कास्की, म्याग्दीलगायतका गाउँपालिका तथा नेपाल हस्तकला महासंघसँग विशेष सहकार्य गरिने आयोजकले जनाएका छन् ।
कार्यक्रममा सन् १९५३ मा सर एडमन्ड हिलारीसँगै पहिलो पटक सगरमाथा आरोहण गरेका जीवित सदस्य कान्छा शेर्पालाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिने छ ।