काठमाडौँ । बेलायतस्थित कल्याणकारी संस्था, सुबोध फाउन्डेसन यूकेले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, पुलचोकमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको छ ।
इन्जिनियरिङ अध्ययन संस्थानको डिपार्टमेन्ट अफ आर्किटेक्चरमा आयोजित एक समारोहमा नेपालका लागि ब्रिटिस राजदूत रब फेनले उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
सो अवसरमा राजदूत फेनले शिक्षा र मानव पुँजी निर्माणमा गरिने लगानीले आर्थिक विकासको जग बसाल्ने बताए । उनले शिक्षा र अर्थतन्त्रबीच प्रत्यक्ष सम्पर्क रहेको भन्दै पढेलेखेका नेपाली विदेश गए पनि उनीहरू स्वदेश फर्किएर आफ्नो समाज र समुदायको हितका लागि योगदान गरेको बताए ।
राजदूत फेनले गोर्खा सैनिक दुवै मुलुकबीच सम्बन्धको कडी भएको उल्लेख गरे । उनले इन्जिनियरिङ विधामा सिद्धान्त र व्यवहारको गठजोड हुने बताउँदै प्राविधिक शिक्षाको विकासमा सघाउन ब्रिटिस सरकार इच्छुक रहेको पनि बताए ।
उनले प्रतिभाशाली नेपाली विद्यार्थीलाई सहयोग र सम्मान गरेकोमा सुबोध फाउन्डेसन यूकेको प्रशंसा पनि गरे ।
कार्यक्रममा राजदूत फेन, डीन प्राडा बज्राचार्य, क्याम्पस प्रमुख डा.उप्रेती तथा सुबोध फाउन्डेसन यूकेका अध्यक्ष इ.सुबोध तिमिल्सिनाले मास्टर्स तहमा उत्कृष्ट थेसिस तथा उच्च अंक ल्याउने विद्यार्थीहरू प्रबल दाहाल, प्रसिद्धि हमाल, स्वस्तिना रंजित एवं स्नातक तहमा उत्कृष्ट थेसिस तथा उच्च अंक ल्याउने विद्यार्थीहरू कृपा तिमिल्सिना, रश्मी गौतम, आशिष बिक लगायतलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
त्यस्तै सुबोध फाउन्डेसन युकेका अध्यक्ष तिमिल्सिनाले राजदूत फेन, डीन प्राडा बज्राचार्य, क्याम्पस प्रमुख उप्रेती तथा अन्य प्राध्यापकहरूलाई मायाको चिनो प्रदान गरेका थिए ।