लन्डन । बेलायतको रेडिङमा विभिन्न संघसंस्थाको आयोजनामा विशेष समारोहबीच सोमबार २५६९औँ बुद्ध जयन्ती मनाइएको छ ।
रेडिङस्थित पाकिस्तानी कम्युनिटी सेन्टर थाउजेन्ड बुद्ध यूके, तामाङ घेदुङ रेडिङ, शाक्यलिंग बुद्धिस्ट यूके, शेर्पा एसोसिएसन यूके (साउथ सेन्ट्रल) र पासा पुचः गुथि रेडिङको संयुक्त आयोजनामा बुद्ध जयन्ती मनाइएको हो ।
सो अवसरमा नेपालबाट आमन्त्रित महागुरु टुल्कु (अवतारी लामागुरु) लोप्साङ नामग्याल रिन्पोछेको विशेष उपस्थितिमा बौद्ध प्रवचन र दीर्घायूको पूजा भएको थियो । महागुरु रिन्पोछेले पूजापश्चात् लगभग ४५ मिनेट आफ्नो प्रवचन दिएका थिए ।

रिन्पोछे लोप्साङ नामग्यालले प्रवचनका क्रममा बुद्ध शिक्षा र आधुनिक जीवनसँगको सान्दर्भिकताबारे प्रकाश पारेका थिए । बुद्ध शिक्षा धर्मका लागी मात्र नभई आफ्नो जीवनमा प्रयोगमा ल्याई पञ्चशीललाई मानी मात्र दियो भने पनि असल मानव बन्नेमा कुनै शंका नरहने बताए ।
गुरु रिन्पोछेले प्रवचनपश्चात् सबै उपस्थित भक्तजन हरुलाई दीर्घायूको वांङ (आशीर्वाद स्वरूप पवित्र फल) वितरण गरेका थिए । पूजा बिहान १० देखि अपराह्न ५ बजेसम्म चलेको थियो । सहभागीलाई शाकाहारी भोजन तथा खाजाको नि:शुल्क व्यवस्था गरिएको थियो । लन्डनबाट समेत भक्तजनहरू रेडिङमा पुगेका थिए ।
कार्यक्रममा रेडिङ मेयर काउन्सिलर ग्लेन डेनिस पनि सहभागी थिए । उनले नेपाली समाज अत्यन्त विविधताले भरिएको उल्लेख गरे । थाउजेन्डस बुद्ध यूकेले सबैलाई सामान व्यवहार गर्ने र आत्मीयता देखाउने कुराले आफू प्रभावित भएको उनको भनाइ थियो ।

कार्यक्रममा विभिन्न व्यक्तित्व तथा परिवारले दान दिएका थिए । १ हजार पाउन्डभन्दा बढी दान दिने १० परिवारलाई टुल्कु रिपोचे गुरू र मेयरले खादा लगाएर धन्यवादसहित सम्मान गरेका थिए । दान दिनेहरूमा सोनम र निमा चुंगी शेर्पा, ओंग्ला र नीजू दोमा शेर्पा, योंग्ला र डोमा शेर्पा, लमु शेर्पा र लक्ष्मी देव तामाङ, मञ्जुल र जोनी गुरुङ, बन्दना गुरुङ, रामचन्द्र र उमा गुरुङ, हिरा प्रसाद गुरुङ र भूमिकला घले, दल बहादुर र तीर्थ कुमारी गुरुङ तथा हेमन्त र शसी लिम्बु गुरुङ रहेका छन् ।
तामाङ घेदुङ रेडिङका महासचिव धन तामाङले सञ्चालन गरेको कार्यक्रममा उपस्थित सबै आयोजक, सहयोगी र भक्तजनलाई थाउजेन्ड बुद्ध यूकेका अध्यक्ष समुन्द्र गुरुङले धन्यवाद दिँदै समापन गरेका थिए ।
