काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्वअध्यक्ष जीवा लामिछानेले नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठलाई वास्तविक एकताका साथ एनआरएनको अभियानलाई अघि बढाउन सुझाव दिएका छन् ।
महतो र लामिछाने सर्वोच्च अदालतको परमादेशपछि गठित उच्चस्तरीय समितिमा समेत थिए । उनीहरूले एकता महाधिवेशन भने बहिष्कार गरेका थिए ।
होटल हायातमा भएको महाधिवेशनबाट महेशकुमार श्रेष्ठको नेतृत्वमा कार्यसमिति सर्वसम्मत चयन भएपछि महतोले सिंगो कार्यसमितिलाई आफ्नै निवासमा बोलाएका थिए । सो भेटमा लामिछाने पनि सँगै थिए । अर्का पूर्वअध्यक्ष भवन भट्टले भने एकता अधिवेशनलाई समर्थन गरेका थिए ।
भेटमा महतोले सबैले इगो त्यागेर एकताको वातावरण बनाउन अहिलेका (नवनिर्वाचित) साथीहरूले भूमिका निर्वाह गर्नुपर्ने बताए । सबै एनआरएनहरू एक ठाउँमा नआउँदासम्म प्राप्त उपलब्धि पनि संस्थागत नहुने र आगामी दिन झनै अप्ठ्यारो हुनेतर्फ उनले सचेत गराएको प्रवक्ता गंगाधर गौतमले जानकारी दिए ।
भेटका क्रममा अनलाइन भोटिङको आफूले सबैभन्दा पहिला विरोध गरेको स्मरण गराउँदै महतोले नेपालको हितका लागि पनि सबै काठमाडौँमा जम्मा भएर अधिवेशन गर्ने पक्षमा आफू रहेको बताए ।
उनले अहिले पनि केही साथीहरू बाहिर रहेको बताउँदै एकताको वातावरण बनाउनका लागि श्रेष्ठ नेतृत्वले त्यसमा बढी पहल गर्नुपर्नेमा जोड दिए ।
एकताको वातावरण बनाउनका लागि एनआरएनसम्बन्धी अदालतमा विचाराधीन सबै मुद्दा फिर्ता लिएर सहमतिको वातावरण बनाउन उनले सबैलाई अपिल पनि गरे ।
सोही अवसरमा पूर्वअध्यक्ष जीवा लामिछानेले एनआरएनएको अहिलेको अवस्था आउनुमा आफूहरू पनि दोषी रहेको स्वीकार गर्दै अब सबैले इगो त्यागेर एकताको वातावरण बनाउनुपर्नेमा जोड दिए ।
यस्तै, पूर्वअध्यक्ष भवन भट्टले सबै साथीहरू एक ठाउँमा आउने वातावरण बनाउन अपिल गरे ।एनआरएनए उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले अझैँ एकताको वातावरण बनाउनु पर्नेमा जोड दिएका थिए ।
उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले एनआरएनभित्रको उतारचढावमा आफूहरू सबैको भूमिका रहेको स्वीकार गर्दै अहिले विवाद कम भएको रूपमा व्याख्या गरे । नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठले पहिलो बैठकले नै एकताको आह्वान गरेको स्मरण गर्दै सबैलाई साथ लिएर हिँड्ने गरी आफूले तयारी गरिरहेको बताए ।