पोखरा । घारीपाटनस्थित तीनगाउँले थकाली सेवा समाज नेपालको नवनिर्मित दोस्रो तला भवन र भीमकुमारी थकालीको स्मृतिमा निर्मित कक्षको उद्घाटन भएको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-४, एयरपोर्ट निवासी शक्तिप्रसाद थकालीले धर्मपत्नी स्व. भीमकुमारीको स्मृतिमा भवन निर्माणमा १९ लाख ५० हजार रुपैयाँ सहयोग गरेका थिए ।
आइतबार आयोजित समारोहमा शक्तिप्रसादसहित पोखरा-७ का वडाध्यक्ष राममोहन आचार्य र पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले संयुक्त रूपमा भवन तथा कक्षको उद्घाटन गरेका हुन् ।

भवनको दोस्रो तला निर्माणको जिम्मा तीन गाउँले थकाली सेवा समाजका सदस्य विक्रम थकालीलाई दिइएको थियो । भवन निर्माणपछि आगामी दिनमा यहाँ विविध कार्यक्रम गर्न सहज हुने अपेक्षा गरिएको छ ।
भीमकुमारी सहारा क्लब पोखराका पूर्वअध्यक्षसमेत रहेका भवन निर्माण संयोजक विक्रम थकालीका फुपू हुन् । फुपूको नाममा भवन निर्माण गर्ने प्रस्तावको सहजै रूपमा शक्तिप्रसाद थकालीले स्वीकारेका थिए । व्यवसायीसमेत रहेका शक्तिप्रसादले भवनको आगामी दिनमा पनि संरक्षण र सम्वर्द्धन गर्दै जान सुझाव दिए ।
पोखरा-७ का वडाध्यक्ष आचार्यले यो भवन अब वडाको पनि सम्पत्ति भएकाले आगामी दिनमा रङरोगन एवं संरक्षणमा सहयोग गर्ने वचन दिए ।
पोखरा-९ का वडाध्यक्ष मर्सानीले भवनका निम्ति १ लाख रुपैयाँ दिने घोषणा गरे । मुस्ताङको घरपझोङ गाउँपालिकाका पूर्वअध्यक्ष आशबहादुर थकालीले तीनगाउँलेको पहिचान समाजघर भएको बताए । समाजका निवर्तमान अध्यक्ष गणेश थकालीले २०५१ सालमा पोखरा समाजघर स्थापना भएको जानकारी दिए ।
भवन निर्माण समिति संयोजक विक्रम थकालीले निर्माणमा १९ लाख ३७ हजार खर्च भएकोमा १२ हजार बचत भएको आर्थिक विवरण सार्वजनिक गरे । फुपूप्रति श्रद्धासुमन व्यक्त गर्दै उनले भवन निर्माणमा ठूलो रकम सहयोग गर्ने आफ्ना भिनाजुसहित सम्पूर्ण महानुभावप्रति आभार व्यक्त गरे ।
समाजका अध्यक्ष कमलप्रसाद थकालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्ण थकाली र सञ्चालन सचिव आशबहादुर थकालीले गरेका थिए । सो अवसरमा भवन निर्माणका दाता शक्तिप्रसाद थकाली, भवन निर्माण संयोजक विक्रम थकालीसमेतलाई सम्मान गरिएको थियो ।

घरपझोङ गाउँपालिकाको ठिनी, स्याङ र चिमाङ गाउँका आदिवासी तीनगाउँले थकाली समुदायको हाल पोखरामा करिब ७० घरधुरी छन् । समाजका अध्यक्ष कमलप्रसाद थकालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष कृष्ण थकाली र सञ्चालन सचिव आशबहादुर थकालीले गरेका थिए ।
भवन निर्माणका दाता शक्तिप्रसाद थकाली, भवन निर्माण संयोजक विक्रम थकालीसमेतलाई सम्मान गरिएको थियो । घरपझोङ गाउँपालिकाको ठिनी, स्याङ र चिमाङ गाउँका आदिवासी तीन गाउँले थकाली समुदायको हाल पोखरामा करिब ७० घरधुरी छन् ।