काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीले आज भेटघाट गरेका छन् ।
विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका नेपाली मूलका कलाकार मध्येबाट छानिएका २३ देशका कलाकारले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । भेटमा प्रधानमन्त्री ओलीले उनीहरूको प्रतिभाको सराहना गरेका थिए ।
इन्ट्रा फाउन्डेसनद्वारा सञ्चालित र नेपाल टेलिभिजनबाट प्रसारित उक्त शृङ्खलाका आयोजक र कलाकारलाई प्रधानमन्त्री ओलीले नेपाली कला, साहित्य, संस्कृति, नृत्य, हाउभाउ आदिलाई जीवन्त बनाउन प्रतियोगीहरूको भूमिका रहने बताए ।
विश्वका जुनसुकै मुलुकमा रहे पनि नेपालीहरूमा रहने ‘जनेटिक मोमोरी’ले नेपाली कला, संस्कृतिलाई जीवन्त बनाउने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल, भुटान, भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, म्यानमार, पोर्चुगल, मलेसिया, थाइल्यान्डलगायत मुलुकमा बसोबास गर्दै आएका नेपाली मूलका प्रतियोगीहरूको सहभागिता रहेको फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए ।