काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको ११औँ शिखर सम्मेलन बिहीबार काठमाडौँमा सुरु हुँदै छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो ३४औँ स्थापना दिवसका अवसरमा सम्मेलन गर्न लागेको हो । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उद्घाटन गर्ने सम्मेलन चैत ३० गतेसम्म चल्ने परिषद्ले जनाएको छ ।
स्वास्थ्य र जनसंख्यामा आधारित अनुसन्धान प्रवर्द्धन, प्रमाणमा आधारित नीति तथा निर्माण प्रक्रिया सुदृढ गर्नु र वैज्ञानिक अनुसन्धानकर्ता तथा नीति निर्माताबीचको सहकार्यलाई बलियो बनाउने उद्देश्यले सम्मेलन गर्न लागिएको हो ।
सम्मेलनमा नेपालसहित भारत, चीन, बेलायत, स्वीट्जरल्यान्ड, जर्मनी, अमेरिकालगायत १०० भन्दाबढी देशका विज्ञ तथा एक हजारभन्दा बढी राष्ट्रिय सहभागीहरूको भौतिक तथा भर्चुअल उपस्थिति हुनेछ । सम्मेलनमा ८७ वटा मौखिक र ११५ वटा पोस्टर प्रस्तुतीकरण हुने परिषद्का कार्यकारी सचिव डा. प्रमोद जोशीले जानकारी दिए ।
सम्मेलनबाट प्राप्त निष्कर्षले प्रमाणमा आधारित नीति निर्माणको लागि पूर्वाधार बनाउँदै, दिगो र उत्थानशील स्वास्थ्य सेवाको सुनिश्चित गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नेछ ।
परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालका अनुसार सम्मेलनमा प्रत्येक दिन स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानका विभिन्न विषयमाथि सामूहिक छलफलसमेत हुनेछन् ।