लन्डन । ओमप्रकाश गुरुङ निर्देशित गुरुङ चलचित्र ह्युलन् छ्याँबा (देशै राम्रो) बेलायतमा भव्य रुपमा प्रदर्शन भएको छ ।
दुर्लुङ्ग समाज यूकेको आयोजनामा मिचेटस्थित तमुधीं यूकेको भवनमा शनिबार २९ मार्च २०२५ मा उक्त चलचित्र प्रदर्शन गरिएको हो । चलचित्र प्रदर्शनमा निर्माता र नायक भिम गुरुङले स्वागत मन्तव्यसहित शुभकामना दिँदै चलचित्रबारे जानकारी गराएका थिए । वरिष्ठ कलाकार, निर्देशक तथा निर्माता गोरे गुरुङले पनि शुभकामना दिएका थिए । चलचित्र प्रदर्शनमा सहभागी धेरैले राम्रो प्रतिक्रिया जनाएका थिए । उनीहरुले आफ्नो गाउँ देख्न पाएको, समयको मागअनुसार आफ्नो गाउँ छोड्नु हुन्न र अर्काको देशमा जानु हुन्न भन्ने सन्देश चलचित्रले बोकेको भन्दै उनीहरुकोले खुसी व्यक्त गरे ।
चलचित्रका नायक तथा निर्माता भीम गुरुङले सोचेभन्दा राम्रो प्रदर्शन भएको बताए ।

दुर्लुङ्ग समाज यूकेका अध्यक्ष कुलराज गुरुङले चलचित्र गुणस्तरीय लागेको बताए । परदेशिएकालाई गाउँ फर्क र गाउँमै केही हुन्छ भन्ने सन्देश चलचित्रले दिन खोजेको उनले बताए ।
कलाकार गोरे गुरुङले ह्युलन् छ्याँबा चलचित्र पोखरामै हेर्दा पनि राम्रो लागेको भन्दै बेलायतमा प्रदर्शनमा आउने भएपछि खुसीले हेर्न आएको बताए । उनले यो चलचित्र सुरु, अन्त्य, कथावस्तु,संवाद, अभिनय राम्रो रहेको बताए । उनले अझै राम्रा राम्रा गुरुङ चलचित्र आओस् भन्ने कामना गर्दै भीम गुरुङलाई धन्यवाद दिए ।

चलचित्र प्रदर्शनमा बेलायतमा सक्रिय विभिन्न संस्थाका अध्यक्ष, प्रतिनिधि, सर्वसाधारण, सञ्चारकर्मीलगायतको बाक्लो उपस्थिति थियो । हङकङमा भएको प्रदर्शनमा अपार सफलतापछि बेलायतमा प्रदर्शन गरिएको यो चलचित्रमा मुख्य नायिका कृष्टि गुरुङ रहेकी छन् । उक्त चलचित्र पर्वतको दुर्लुङ गाउँ र लमजुङमा छायांकन गरिएको थियो ।
चलचित्र ह्युलन् छ्याँबा मुनाल फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको हो । चलचित्र परिकल्पनाकार र कथा लेखन ओमप्रकाश गुरुङको रहेको छ । निर्माता भिम गुरुङ र कुविना गुरुङ रहेका छन् । यो चलचित्रले आदिवासी चलचित्र गुरुङतर्फ वेस्ट अवार्ड २०७९ जितेको थियो ।


