सागर तामाङ
काठमाडौं । नेपाली मौलिक कला, संस्कृति र लोकसंगीतलाई समेट्दै नयाँ नेपाली कौडा गीत ‘लर्के जोवन’ सार्वजनिक भएको छ। गायक अजय डोङको स्वर रहेको उक्त गीतको आधिकारिक म्युजिक भिडियो रिया लामा युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
गीतको भिडियोमा रिया लामा, अजय दोङ, लुना बुधाथोकी र रोबिन मगरको अभिनय रहेको छ। नेपाली मौलिक भेषभूषा, सांस्कृतिक परिवेश र कौडा नृत्यलाई समेटेर तयार पारिएको भिडियोले नेपाली लोकसंस्कृति र परम्पराको सुन्दर झल्को प्रस्तुत गरेको छ।
गीतमा सुसन लामाको शब्द तथा संगीत रहेको छ भने नोर्बु शेर्पाले संगीत संयोजन गरेका छन्। गीतलाई थप आकर्षक बनाउन गितारमा विकास गजमेर, बाँसुरीमा नगेन्द्र विक्रम राई तथा मादल, खैँजडी, पैजनी र टिन्चुमा भरत बुधोथकीले वाद्यवादनमा साथ दिएका छन्।
अर्पण स्टुडियोमा तयार पारिएको यस गीतमा अर्पण थिङ तामाङको संलग्नता रहेको छ। भिडियोमा सरिता प्रजापतिले मेकअप गरेकी छन् भने प्रकाश व्यवस्थापनको जिम्मेवारी सञ्जोक एन्ड टिमले सम्हालेको छ। त्यस्तै, कला निर्देशन मणिक पाख्रिनले गरेका छन्।
गीतको कोरियोग्राफी तथा निर्देशन प्रतीक ङेस्युरले गरेका हुन्। सहायक क्यामेरामा आइता जिमे सहभागी छन् भने छायाङ्कन तथा सम्पादन विनोद याक्खाले गरेका छन्।
नेपाली मौलिक लोकसंगीत, सांस्कृतिक पहिचान र परम्परागत नृत्यलाई प्राथमिकता दिइएको ‘लर्के जोवन’ गीत तथा भिडियोले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको छ। नेपाली लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा यस्ता सिर्जनाले महत्वपूर्ण योगदान पुर्याउने विश्वास गर्न सकिन्छ।