पोखरा । तमु धिं नेपालले ११ जना बिरामीलाई मंगलबार पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपाल रोधिं हलमा एक कार्यक्रम आयोजना गरी स्वास्थ्योपचार सहयोग हस्तान्तरण गरेको छ ।
स्वर्गीय मेजर जयवहादुर गुरुङको परिवारले तमु धिं नेपालमा स्थापित "मेजर जयबहादुर गुरुङ, उदयचन्द्र गुरुङ, मेजरनी रुपकुमारी गुरुङ स्वास्थ्योपचार अक्षयकोष"को त्रैमासिक ब्याजसमेत गरेर जनही २५ हजारको दरले शिघ्र स्वास्थ्यलाभको कामनासहित तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, प्रमुख अतिथी संस्थापक अध्यक्ष कर्म तमु लगायतले उपचार सहयोग रकम वितरण गरेका हुन् ।
उपचार सहयोग प्राप्त गर्ने बिरामीहरुमा मिर्गौला समस्या भएकाहरु ६७ वर्षीया शिलकुमारी गुरुङ, ७४ वर्षीया कुमारी गुरुङ, ५० वर्षीया आइती गुरुङ, ४१ वर्षीया विष्णुमाया गुरुङ, ५५ वर्षीय देवीमाया गुरुङ, ६४ वर्षीय भिमबहादुर गुरुङ, २७ वर्षीया अनुसा गुरुङ, बामदेव खनाल छन् ।
यसरी नै क्यान्सर समस्यामा रहेका दिपक गुरुङ र ३७ वर्षीय रेशमकुमार नेपाली, पक्षघात पीडित ६३ वर्षीय भिमकुमारी गुरुङ रहेका छन् । स्वास्थ्यमा दिर्घ समस्याले उपचार गर्दागर्दै आर्थिक अभावले समस्यमा रहेका बिरामीलाई शिघ्रस्वास्थ्य लाभको कामना सहित सहयोग हस्तान्तरण गरिएको तमु धिं नेपालले जनाएको छ ।


