काठमाडौँ । पर्वतका लाउटे दमाईंको पछिल्लो एक वर्ष कष्टपूर्ण रह्यो । किनभने, विगत आठ वर्षदेखि दुवै आँखाले धमिलो देख्दै आएका उनले वर्षदिन यता भने दुवै आँखाको दृष्टि गुमाएका थिए । त्यसयता उनलाई जीवन नै रोकिएको जस्तो थियो ।
श्रीमतीको सहारामा घरभित्र र बाहिर गर्थे । घरमा एक्लै भएको समय आफै हिँड्न खोज्थे । पटक-पटक लड्थे । फागुन पहिलो सातादेखि भने उनको आँखाको ज्योति फर्किएको छ । अब लाउटे दमाईं आफै हिँड्न सक्ने भएका छन् । रेज अफ होप फाउन्डेसन यूकेले आयोजना गरेको नि:शुल्क शिविरमा आँखाको शल्यक्रिया गरेपछि उनी पुन: संसार देख्न सक्ने भएका हुन् ।

‘उहाँका दुई वटै आँखाले आठ/नौ वर्षदेखि धमिलो देख्न थाल्नुभएको रहेछ। पूरै देख्न छाडेको भने एक वर्षभन्दा बढी भएको रहेछ । श्रीमतीको सहारामा लट्ठी टेकेर आउनुभएको थियो,’ फाउन्डेसनका अध्यक्ष डा. विशाल गुरुङले भने, ‘स्क्रिनिङ क्याम्पबाट सबै फाइदा बेफाइदा हेरेर दुवै आँखाको शल्यक्रिया एकै दिनमा गर्यौँ । भोलिपल्ट जब आँखाको पट्टी खोलिसकेपछि उहाँको ज्योति साथसाथै मुहारमा फरक चमक देखेका थियौँ । साथसाथै त्यसपछि उहाँ लट्ठीबिना हिँड्नुभएको थियो । आफ्नो खुसी नाचेर पनि देखाउनुभएको थियो ।’
यो शिविरको उदाहरणीय र छाप पर्ने कथा रहेको डा. गुरुङको भनाइ छ । लाउटे दामाईं एक प्रतिनिधि मात्रै हुन् उनीजस्ता धेरैलाई यो शिविर वरदान साबित भएको छ । लामो समयदेखि मोतियाविन्दुको समस्या भए पनि विभिन्न कारणले उपचारको पहुँचभन्दा बाहिर भएका बिरामीलाई गाउँ-गाउँमा गएर स्क्रिनिङ गरी शल्यक्रिया गरिएको थियो ।

डा. गुरुङका अनुसार यस वर्ष नेपालको पर्वत र सर्लाहीमा दुई वटा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शल्यक्रिया गर्नुअघि पर्वतका नौ वटा स्थानमा बिरामीको स्क्रिनिङ गरिएको थियो । सो क्रममा दुई हजार ९६६ जनाको स्क्रिनिङ गरिएको थियो । जसबाट १५४ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको थियो ।
यसैगरी, सर्लाहीमा ६ स्थानमा स्क्रिनिङ गरिएको थियो । जसबाट छानिएका १७५ जनाको शल्यक्रिया गरिएको थियो । शिविरका लागि विभिन्न संघसंस्था र व्यक्तिहरूले सहयोग गरेका थिए । बेलायतबाट नेपाल आएका समाजसेवीहरूले शिविरस्थलमा नै पुगेर हौसला बढाएका थिए । तमु धीं यूकेको टोली पर्वतको खाल्टेमा भएको स्क्रिनिङ क्याम्पमा पुगेको थियो ।

कार्यक्रममा सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिहरू कोलाब्रेसन पार्टनरका रूपमा रहेका थिए । जसमा मा तमु धीं यूके, तमु धीं यूके आमा समूह, अनुग्रह फाउन्डेसन, एनआरएनए यूके, डेभिड अर्मिटेज, कोल्मा बाहकोट समाज यूके, न्यु लक्ष्मी ज्वेलर्स, मार्दीखोला समाज यूके, सहारा यूके, राङभाङ समाज यूके, बीसीसी गुम्बाका अध्यक्ष हर्क गुरुङ, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, विमल गुरुङ र चार भन्ज्याङ समाज यूके रहेका थिए ।
यसैगरी, पर्वतमा नेपाल नेत्रज्योति संघद्वारा हिमालय आँखा अस्पतालले प्राविधिक सहयोग गरेको थियो भने कुस्मा अस्पताल र लायन्स क्लब पर्वतको पाँच वटै शाखाले विशेष सहयोग गरेका थिए ।
उता, सर्लाहीमा नेपाल नेत्रज्योति संघद्वारा नै भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो । स्थानीय तहमा, हरिवन आई सेन्टरले सहयोग गरेका थिए ।
फाउन्डेसनका अध्यक्ष डा. गुरुङले सहयोगी दाता सबैलाई धन्यवाद दिएका छन् ।
