पर्वत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेशले ‘मिलन पत्रकारिता पुरस्कार–२०८१’ सञ्चारकर्मी सञ्जय रेग्मीलाई प्रदान गरिएको छ।
पुर्ख्यौली घर पर्वत हाल हङकङ निवासी समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले आफ्ना स्वर्गीय बुबा नरबहादुर गुरुङ र आमा सावित्रीकुमारी गुरुङको सम्मान एवं स्वर्गीय मित बुबा सूर्यप्रसाद मलेपति श्रेष्ठ ‘मिलन’को स्मृतिमा स्थापना गरेको पुरस्कारबाट रेग्मीलाई सम्मान गरिएको हो । बुधबार पोखरामा गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा.टकराज गुरुङले सम्मान गर्दै पुरस्कार हस्तान्तरण गरेका हुन् । जनजातिको मौलिक चलनको रूपमा रहेको फेटा र भाङ्ग्रासहित सम्मानपत्र र पुरस्कार स्वरूप नगद २० हजार ५५५ रुपैयाँ रेग्मीलाई प्रदान गरिएको हो ।
थाहा खबरमा आबद्ध रेग्मी पोखरा र पर्वतमा रहेर करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी आदिवासी जनजातिको उत्थानका लागि तथा उनीहरूका परम्परागत सीप, शैली, कला लगायतका विषयमा लेख्ने गरेका छन्। सोही मूल्यांकनको आधारमा ‘मिलन पत्रकारिता पुरस्कार–२०८१’ पहिलो पुरस्कार नै उनलाई प्रदान गरिएको फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्रबहादुर श्रीसमगरले बताए ।

अधिवेशन तथा सम्मानको अवसरमा बोल्दै मन्त्री गुरुङले आदिवासी जनजाति महासङ्घको पुरस्कार गैर जनजाति पत्रकारलाई प्रदान गरेर सामाजिक एकताको प्रयास गरेको भन्दै खुसी व्यक्त गरे । नेपालको वर्तमान राज्य व्यवस्था संसारकै उत्कृष्ट मोडलको रहेको भन्दै उनले समाजमा अराजकता फैलाउनेहरूले गरेका सामान्य गतिविधिमा अत्तालिनु नपर्ने बताए ।
यसैबीच फोनिज गण्डकी प्रदेशको तेस्रो महाधिवेशनबाट खिमा गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । १५ सदस्यीय कार्यसमितिको उपाध्यक्ष (खुला) मा धनबहादुर गुरुङ, उपाध्यक्ष (महिला) मा शीला गुरुङ, महासचिवमा सुरज थापा मगर, सचिव (खुला)मा दिलप्रसाद गुरुङ, सचिव (महिला) कला राना, कोषाध्यक्षमा सुमन थापा मगर चयन भएका छन्।
यस्तै सदस्यहरूमा यमबहादुर सोमै मगर, खडकबहादुर आले, मनप्रसाद गुरुङ, चेतबहादुर थापा प्रवीण, कविता घर्ती, चन्द्रकुमारी महतो, पुनम थापा मगर र कृष्ण श्रेष्ठ (रोजी) सर्वसम्मत भएका छन्।