अल्डरसट। लेम तमु (लाम्छाने गुरुङ) समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा गत मार्च ८ तारिख भब्यताकासाथ सम्पन्न भएको छ।
रि. क्या बालकृष्ण गुरुङको अध्यक्षता र तमु धीं यूकेका निवर्तमान अध्यक्ष तथा लेमहरूका उपाध्यक्ष हरि गुरुङको संयोजकत्वमा कार्यक्रम भएको हो । तमु धीं यूकेका भुपूअध्यक्ष नन्दजङ्ग गुरुङका आफ्नै भाइ प्रतिनिधिसभा सांसद मनबहादुर गुरुङ प्रमुख अतिथि रहेका थिए।
ब्याक पाईपको धुनसँगै प्रमुख अतिथिलाई हलमा स्वागत गरिएको थियो। अध्यक्ष क्या. रि. बालकृष्ण गुरुङ, प्रमुख अतिथि सांसद मनबहादुर गुरुङ, प्रमुख सल्लाहकार मे. रि. श्रीप्रसाद गुरुङ, एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङ, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र कार्यक्रम संयोजक हरि गुरुङले संयुक्त रूपमा दिप प्रज्जवलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए । नेपाल, ब्रिटेन र तमुहरूको राष्ट्रिय गानको धुन गुन्जिदा हल शोभायमान भएको थियो ।

हरि गुरुङले स्वागत मन्तव्य राखेका थिए । केन्द्रीय अध्यक्ष क्या. पाइलोट ओम गुरुङले कार्यक्रम सफलताका लागि नेपालबाट भिडियो मेसेज पठाएका थिए । सरदार वंशु लेम गुरुङको सम्मानमा उनको तस्बिरमा खादा र फूल चढाएको थियो। साथै तमु धींका वरिष्ठ उपाध्यक्ष र लेमहरुको महासचिव परशु गुरुङले वंशु लेमका जीवनी र उनका कृतिहरूबारे चर्चा गरेका थिए।
सहसचिव गजेन्द्र गुरुङले लेमहरु कसरी लाम्छाने भए भन्ने विषयमा बोलेका थिए । ‘१५५० असार १५ गते यशोब्रम्हा शाहको दरबारमा भएको सम्झौता अनुसार हाम्रा पुर्खा पुरुक्हाल लेम पहिलो लामिछाने गुरुङ भएका थिए । पछि त्यही शब्दलाई तमु जिब्रोले लाम्छाने बनाएको हो । सोही अवसरमा गर्गे गोत्र पनि दिएको थियो,’ उनले भने ।

पुर्खा र पहिचानको बारे नोचन खोर्लोका तीन सन्तानहरु सोंबुसें अर्थात सोगीं कान्छा स्यारचनका सन्तान लेम (गुरुङ) भएको बताइन्छ । तमुहरूको नेजा, उत्पत्तिबारे गजेन्द्रले पावरप्वाइन्टद्वारा चाखलाग्दो ढंगामा लेमहरुको प्राचीन इतिहास प्रस्तुत गरेका थिए ।
सांसद गुरुङको बोल्ने क्रममा उपस्थित सबैलाई धन्यवाद तथा स्वागत सम्मानको लागि कृतज्ञता व्यक्त गर्दै केही सुझाव राखेका थिए । ‘हामीमा भएको ज्ञान, सिप नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ। शिक्षामा कमजोरी हुनुहुँदैन। तमुहरू युके अमेरिका जापान देशहरूमा आएर बसेका छन्। संसारको कुनै कुनामा रहेता पनि हाम्रो संस्कार,संस्कृति, मौलिकतालाई कायमै राख्नुपर्दछ,’ उनले भने, ‘दुइटा उदाहरण प्रस्तुत गर्दछु । थकाली जातीहरूको संसारको कुनै कुनामा देहान्त भए पनि उनीहरूको अस्तु आखिर मुस्ताङमै पुर्याउँछ । त्यस्तै पाँचौँ शताब्दी देखिनै नेपाल तिब्बत व्यापार थियो । धेरै नेवार जातीहरु नै उक्त पेसामा थिए । नेवारहरूले जहाँ गए पनि आफ्नो संस्कृति सँगै लिएर गए । हामीले पनि सिक्नु पर्यो। पैसा कमाउन विदेश जाने हो तर भाषा, धर्म, संस्कार, संस्कृति निभाउने होइन ।’

सो अवसरमा सांस्कृतिक कार्यक्रम संयोजक कुमार गुरुङ, पदम गुरुङ र महान्ता गुरूङको साथ सहयोगबाट विभिन्न नाचगानहरू प्रस्तुत गरिएको थियो । नेपालबाट आएका राष्ट्रिय लोक दोहोरी कलाकार शीतल गुरुङ र विमला गुरुङको प्रस्तुति रहेको थियो । राफल टिकट बेच्नमा तमु धींका उपाध्यक्ष तथा लेमका बुहारी दिलमाया गुरुङको सक्रिय भूमिका रहेको थियो ।

लेम परिवारभित्र विशेष प्रगति उन्नति गरेका सदस्यहरूलाई सन्मान गरिएको थियो ।
रोएल एयर फोर्सामा कार्यारत क्या. जितेन्द्र गुरुङ, इम्पिरील कलेज, लन्डन डा. दीपा कुमारी गुरुङ, एक्सेटर युनिभर्सिटीबाट एमबीबीएस डा. अणु गुरुङ र हालै विवाहित जोडी महान्ता गुरुङ र शिशिर सबैलाई खादा, फेटा र सन्मान पत्र दिएर प्रमुख अतिथि र अध्यक्षले सम्मान गरेका थिए ।

अध्यक्ष गुरुङले उपस्थित सबैलाई धन्यबाद दिदै भेटघाट कार्यक्रम अति सफल भएकोमा खुशी व्यक्त गर्दै कार्यसमिति प्रति अभार प्रकट गरेका थिए। कार्यक्रम संचालन महासचिव परशु गुरुङले गरेका थिए।