लन्डन । कास्कीको माछापुच्छ्रे गाउँपालिका -७, मा पर्ने पर्यटकीय सुन्दर गाउँ धम्पुसमा १ करोड लागतमा निर्माण हुने त्होम्लेँ क्ल्हे क्होईबोका लागि सहयोग आह्वान भएको छ । त्होम्लेँ क्ल्हे क्होईबो धीं निर्माण समिति अन्तर्राष्ट्रिय आर्थिक संकलन संयोजक बेलायतवासी मेजर खुसीमान गुरुङ (एमभीओ) नैतिक, आर्थिक र भौतिक सहयोग गर्न अपिल गरेका हुन् ।
त्होम्लेँ क्लेह क्होईबो धीं निर्माण कार्यको शिलान्यास गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा.टक राज गुरुङले गत फागुन ६ गते शुभारम्भ गरिसकेका छन् । यो परियोजनाको मुख्य अभियन्ता तमु प्ये ल्हु संघ यूकेका उपाध्यक्ष अमरसिंह गुरूङ हुन् । उनी बेलायतबाट नेपाल गई क्होईबो निर्माणको नेतृत्व गरिरहेका छन् ।
त्होम्लेँ क्ल्हे क्होईबो बनिसकेपछि भावी सन्ततिले उपभोग गर्न पाउने साझा सम्पदाको रुपमा रहिरहने भन्दै तमु प्ये ल्हु संघ यूकेका पूर्वअध्यक्ष तथा प्रमुख सल्लाहकारसमेत रहेका मेजर खुसीमानले यस्तो पुण्य कार्यमा सबैले सहयोग गर्नेमा आफू आशवासी रहेको जनाएका छन् । 'यो गुरुङ (तमु)हरुको ऐतिहासिक मन्दिर क्होईबो धीं निर्माण सम्पन्न कार्य भएपछि एउटा धार्मिक स्थलको रुपमा हामी र हाम्रो भावी सन्ततीले उपभोग गर्न पाउने छन् साथै यो एउटा सबैको सम्पदा को रुपमा रहिरहने छ,'उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'धम्पुस (त्होम्लेँ) क्लेह क्होईबो निर्माण कार्य समयमा नै सफल गर्नको लागि देश र विदेशमा रहेका हाम्रा सम्पूर्ण धम्पुसवासी दाज्युभाइ, दिदीबहिनीहरू, इस्टमित्र र सम्पूर्ण शुभचिन्तकहरुले यो पुण्य कार्यमा आ-आफ्नो नैतिक, आर्थिक र भौतिक सहयोग गर्नुहुनेछ भन्ने मैले आसा राखेको छु |'
तमु प्ये ल्हु संघको स्थापनाकालमा लिइएको उद्देश्यअनुरुप 'एक तमु (गुरुङ) गाउँ एक क्होईबो' भन्ने नारालाई आत्मसाथ गर्दै धम्पुसमा पनि क्होईबो निर्माण अघि बढाइएको हो । सहयोग दातालाई विभिन्न खाले सम्मान प्रदान गरिने पनि अर्थ संकलन समितिले जनाएको छ । यस्तै कुनै दाताले क्होईबो परिसरभित्र निजी लगानीमा आवश्यकताअनुसारको भौतिक संरचनाहरु निर्माण गर्न पाउने व्यवस्था पनि गरिएको छ ।
बोन धर्मावलम्बीहरुको पवित्र धार्मिकस्थल क्होईबोलाई मानिन्छ । एक अर्थमा भन्दा क्होईबो भनेको क्हेप्री,पच्यु तथा बोन लमले कर्मकाण्ड गर्ने समय लिने आसन पनि हो । जहाँ बोन धर्मावलम्बीहरुले पूजाआजा गरिन्छ त्यही नै क्होईबो हो ।
नेपालमा बहुदलीय व्यवस्थाको प्रादुर्भावपश्चात् तमुहरुको अस्तित्व र पहिचानलाई जनमानसमा पुर्याई बचाउन वि.सं. २०४७ सालमा अग्रजहरुको नेतृत्वमा विभिन्न उद्देश्यसहित तमु प्ये ल्हु संघको स्थापना भएको हो । तमु प्ये ल्हु संघको एक तमु (गुरुङ) गाउँ एक क्होईबो भन्ने नारालाई आत्मसाथ गर्दै अहिले धेरै तमु गाउँहरुमा बोन धर्मावलम्बीहरुको पवित्र धार्मिक स्थल क्होईबोहरु निर्माण भइसकेका छन् । र कतिपय गाउँमा निर्माण भइरहेको छ ।
विस्तृतमा

