पोखरा । चिरपरिचित समाजसेवी तथा व्यवसायी सूर्य गुरुङ पोखरामा सम्मानित भएका छन् । बेलायतबाट हाल नेपाल भ्रमणमा आएका गुरुङलाई छुट्टाछुट्टै कार्यक्रमबीच विभिन्न संघसंस्थाले सम्मान गरेका हुन् ।
बेलायतलाई कर्मथलो बनाए पनि निरन्तर रूपमा समाजसेवामा क्रियाशील रहेको भन्दै गुरुङलाई गण्डकी खेलकुद परिषद्, भूपू खेलाडी मञ्च, बगर भाइ खलक र तमु प्रतिष्ठान नेपालले सम्मान गरेका हुन् । नेपाल र नेपालीलाई विभिन्न समयमा निस्वार्थ भावले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै खादा, दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो ।

सूर्य गुरुङ: व्यक्ति एक, परिचय अनेक
कास्कीको ल्वाङ घलेलमा सन् १९६९ मा जन्मिएका सूर्य गुरुङ बेलायतको नेपाली डायस्पोरामा एक चिरपरिचित नाम हो । शालीन, कर्मठ र सहयोगी भावनाका कारण उनी सबैका लागि प्रेरणादायी र उदाहरणीय बनेका छन् ।
पृथ्वीनारायण क्याम्पस पोखरामा बीबीएस दोस्रो वर्ष अध्ययनका क्रममा सन् १९९३ मा बेलायत गए । हाल फार्नबरोस्थित गोर्खा प्यालेस नेप्लिज रेस्टुरेन्टका निर्देशक रहेका छन् । यससँगै अरू व्यवसाय र सामाजिक कार्यमा गुरुङ संलग्न छन् ।
उनको परिचय व्यवसायीका रूपमा भन्दा पनि समाजसेवीका रूपमा छ । अधिकांश समय सामाजिक कार्यमा तल्लीन रहने भएकाले गुरुङ ‘च्यारिटी किङ’का रूपमा अझ बढी चिन्छन्, नेपाली समुदायमा ।

विभिन्न संघसंस्थामा आबद्ध भएर समाजसेवालाई निरन्तरता दिएका छन् । सन् २००९ देखि २०११ सम्म एनआएनए यूकेको अध्यक्ष बनेर सशक्त जिम्मेवारी वहन गरेका थिए । हाल एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को सल्लाहकार छन् । यस्तै, बेलायतका नेपाली समुदायको अग्रणी जातीय संस्था तमु धीं यूकेको संस्थापक कोषाध्यक्ष तथा हाल ट्रस्टी हुन् ।
गुरुङको सामाजिक योगदान पनि प्रेरणादायी छ । सन् २००४ देखि २००५ सम्म पोखरा रंगशाला पर्खाल निर्माण समिति यूकेको संयोजक भएर ५० लाख रुपैयाँ जुटाएका थिए । त्यो बेला ५० लाख रुपैयाँ जुटाउनु चानचुन कुरा थिएन । उनले मानिसलाई प्रभावित पार्न सक्ने र विश्वास दिलाउने कलाले त्यति ठूलो रकम संकलन गर्न सफल भए ।
सन् २०१३ मा हेल्प नेपाल नेटवर्क यूकेका लागि कोष अभिवृद्धिको संयोजक भएर १ करोड २० लाख संकलन गरे । फार्नबरोस्थित आफ्नै गोर्खा प्यालेस नेप्लिज रेस्टुरेन्टको वार्षिकोत्सवमा विगत २५ वर्षदेखि प्रत्येक वर्ष च्यारिटी गरिरहेका छन् । यसबाट १ करोड रुपैयाँभन्दा बढी रकम जम्मा गरेर नेपालको शिक्षा र खेलकुद क्षेत्रको विकासका लागि प्रदान गरेका छन् ।

सन् २०१५ मा नेपालमा महाभूकम्प गएको थियो । त्यस बेला लन्डनस्थित नेपाली राजदूतावासका तर्फबाट कोष संकलन संयोजकको हैसियतमा गुरुङ नै रहेका थिए । सो क्रममा झण्डै ८ करोड रुपैयाँ संकलन भएको थियो । सूर्य गुरुङले आफ्नो अगुवाइमा हालसम्म नेपालका लागि १० करोड रुपैयाँभन्दा बढी रकम सहयोग जुटाइसकेका छन् ।
जब कुनै गहन जिम्मेवारी आउँछ । समुदायले सूर्य गुरुङको नाम लिइहाल्छन् । गत वर्ष अल्डरसट फुटबल क्लब मैदानमा इंग्लान्ड सी र नेपालको राष्ट्रिय टिमबीचको ऐतिहासिक मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्न पनि उनको भूमिका उल्लेख्य थियो ।
नेपाल र इंग्लान्ड सी टिमबीच बेलायतमा पहिलोपटक फुटबल खेलिएको थियो । उक्त खेललाई नेपाली फुटबलको एक ऐतिहासिक खेल मानिन्छ ।