काठमाडौँ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी उद्योग वाणिज्य प्रवर्द्धन संवाद परिषद्को पदेन सदस्यमा मनोनीत भएका छन्। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग वाणिज्य प्रवर्द्धन संवाद परिषद् (गठन) आदेश, २०७५ बमोजिम अध्यक्ष डा. केसीलाई पदेन सदस्यमा मनोनयन गरेका हुन् ।
अध्यक्ष डा. केसीले मनोनयनका लागि नेपाल सरकारलाई धन्यवाद दिएका छन् । ‘गैरआवासीय नेपाली संघको अध्यक्षको हैसियतले मलाई उक्त समितिको सदस्य मनोनयन गरेकोमा प्रधानमन्त्रीज्यूसहित नेपाल सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु,ʼ उनले भने ।
सार्वजनिक–निजी क्षेत्रबीच नियमित संवाद गरी आर्थिक विकासमा सहयोग पुर्याउन २०७५ असोज ५ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम जारी भएको गठन आदेशका आधारमा उक्त परिषद् सञ्चालनमा छ । परिषद्को सदस्यमा गैरआवासीय नेपाली संघ, नेपाल उद्योग वाणिज्य महासंघलगायत राष्ट्रिय संस्था र व्यावसायिक प्रतिनिधिलाई प्रधानमन्त्रीले हालै मनोनयन गरेका थिए ।
परिषद्को पहिलो बैठक मंगलबार सम्पन्न भएको छ । बैठकमा सरकारका तर्फबाट भएका आर्थिक एवं प्रशासनिक सुधारका प्रयास, अध्यादेशमार्फत २९ कानुनमा गरिएको संशोधन र त्यसका सकारात्मक प्रभाव, विकास निर्माणमा भएका प्रगति, स्टार्ट अप र व्यापार सहजीकरणका लागि गरिएका पहलबारे अवगत गराइएको थियो ।
बैठकले उत्पादन, पूर्वाधार, सामाजिक, व्यापार, निर्यात र शासकीय तथा प्रशासनिक गरी विभिन्न क्षेत्रमा परिषद्अन्तर्गतको समिति गठन गर्ने निर्णय गरेको छ । ती समितिले क्षेत्रगत समस्या र समाधानका विषयमा छलफल गरी परिषद्लाई सुझाव दिनेछन् ।
अध्यक्ष डा. केसीले परिषद्को बैठकमा मंगलबार आफ्नो सुझाव पेश गर्दै गैरआवासीय नेपालीलाई लगानीका लागि आकर्षित तथा प्रोत्साहित गर्न संविधान प्रदत्त आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।