पोखरा । कास्कीको पोखरा महानगरपालिका-९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा सहारा यूकेको आर्थिक सहयोगमा निर्मित पुस्तकालय हस्तान्तरण गरिएको छ ।
सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङले मंगलबार एक समारोहबीच पुस्तकालय शुभारम्भ गर्दै हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा सम्बोधन गर्दै सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङले विद्यालयमा पुस्तकालय स्थापना गर्नमा प्रत्यक्ष-अप्रत्यक्ष सहयोग पुर्याउने सबैप्रति धन्यवाद दिए । उनले विद्यालयले आफूहरुलाई दिएको सम्मानप्रति पनि आभार प्रकट गरे । उनले विद्यार्थी भाइबहिनीहरुलाई नआत्तिन र शिक्षकहरुको आग्रहलाई मानेर अगाडि बढ्न सुझाव दिए ।

यस्तै तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले संस्थाको तर्फबाट विभिन्न क्षेत्रमा सहयोग गरेको उल्लेख गर्दै सहारा बाल आविलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

पुस्तकालय ३ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो । उक्त आर्थिक सहयोग संकलन गर्न सहारा यूकेका उपाध्यक्ष शरदा गुरुङले संयोजन गरेका थिए । जसमा सहाराका पदाधिकारी, कार्यसमिति सदस्य लगायत ४६ जनाले सहयोग गरेका थिए । पुस्तकालयमा कम्प्युटरसाइज्ड प्रविधिसमेत जडान गरिएको छ ।

कार्यक्रममा तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, निवर्तमान अध्यक्ष हरि गुरुङ, पूर्वअध्यक्ष हितकाजी गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, एनआरएनए पूर्वअध्यक्ष सूर्य गुरुङ, वर्तमान उपाध्यक्ष परशु गुरुङ, सहारा यूकेका पूर्वअध्यक्ष नवीन गुरुङ, वर्तमान महासचिव क्या पिताम्बर गुरुङ, कोल्मा बहाकोट समाज यूकेका अध्यक्ष चन्द्र गुरुङ, सार्दिखोला समाज यूकेका अध्यक्ष अमृत गुरुङ, बगर भाइ खलक यूकेका निवर्तमान अध्यक्ष दिलरास गुरुङ, पोखरा ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानी, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, शितलपाटी अनलाइनका सम्पादक वाचस्पति रेग्मी, तमु धीं यूके र सहारा यूकेका सल्लाहकार, कार्यसमिति सदस्यहरु, विद्यालयका कर्मचारी, विद्यार्थी, स्थानीय, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।



